काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि सत्तारुढ दलबाटै साथ नपाएपछि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल नेकपा एमालेसँग थालेको वार्ता सहमतितर्फ उन्मुख देखिएको छ । दुई दलको वार्तामा सहमति भएमा पाँचदलीय गठबन्धन टुट्ने छ भने एमसीसी संसदबाट अनुमोदनका लागि एमालेले साथ दिनेछ ।
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्न बोलाइएको प्रतिनिधिसभा बैठक रोक्न लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवनमै भेटेका थिए । एमसीसीलाई सैद्धान्तिक छलफलसँगै अस्वीकृत गर्ने खेल भएपछि बिहीबारको बैठक रोकेर एमालेसँग सम्वाद थालेको कांग्रेस नेताहरु बताउँछन् ।
नेताहरुका अनुसार कांग्रेस र एमालेबीच बानेश्वरमा भएको छलफल लामो थियो, तर औपचारिकता सीमित थियो । कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सहयोग मागे भने एमाले अध्यक्ष ओलीले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, नभए सभामुख हटाउनुपर्ने अडान राखे ।
कांग्रेस नेताहरु बाहिरिनासाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसद भवनस्थित प्रमुख विपक्षी दलका नेता ओलीको कार्यकक्षमा पुगेका थिए । सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै, पछि दुवै दलका नेताहरुको उपस्थितिमा छलफल भयो । त्यो छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदमा विचाराधीन एमसीसी अस्वीकृत गर्न एमालेको सहयोग खोजेका थिए ।
तर एमाले अध्यक्ष ओलीले एमसीसीको समर्थन मात्र गरेनन्, आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजिनामा दिनुपर्ने शर्त राखे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा प्रचण्डले राजनीतिक प्रतिवेदनमार्फत आफूमाथि लगाएका गम्भीर आरोपहरु फिर्ता गर्नुपर्ने ओलीको माग थियो ।
माओवादी नेताहरुसँग छुट्टिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न सोझै उनको सरकारी निवास बालुवाटार पुगेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललाई लिएर बालुवाटार पुगेका उनले प्रचण्डको व्यवहारप्रति दिक्दारी मात्र पोखेनन्, माओवादीलाई एमालेले पनि नबोक्ने र कांग्रेसलाई पनि नबोक्न आग्रह गरेका छन् ।
२०५२/५३ मा कांग्रेस र एमालेले राप्रपाका नेताहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई बोकेझैं अहिले माओवादीलाई पालैपालो बोक्ने काम भएको भन्दै ओलीले भनेका थिए, ‘अब बोक्ने काम नगरौं ।’ ओली, प्रचण्डहरुसँग आजित भएको र एक पटक दण्डित गरौं भन्ने मुडमा देखिएकाले देउवा पनि मिलेर बढ्न सकारात्मक भएको बैठकमा सहभागी एक नेताले बताए । एमाले नेताहरुले माओवादीसामु राखेको शर्तहरु पनि कांग्रेस नेताहरुलाई सुनाएका थिए ।
देउवा र ओलीबीच वान अन वान वार्ता
नेताहरुका अनुसार बालुवाटारमा सुरुमा दुवै दलका नेताहरुको उपस्थितिमा छलफल भएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली दुई जनाबीच मात्र लामै कुराकानी भयो । त्यसपछि फेरि अरु नेताहरुको उपस्थितिमा पनि छलफल भयो ।
वान अन वान वार्ताका क्रममा के कुरा भयो, नेताहरुले संयुक्त छलफलमा सुनाएनन् । संयुक्त छलफलमा भने देउवाले एमसीसी अनुमोदनका लागि आग्रह गरे भने ओलीले पुरानै अडान दोहोर्याए । नेताहरु भोलि शुक्रबार संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने र दुई दलबीचको छलफललाई निरन्तरता दिने गरी उठेका छन् । ‘जे गर्ने हो दुई दल मिलेर गरौं भन्ने छ’ कांग्रेसका एक नेता भन्छन्, ‘वातावरण सकारात्मक छ, तर छिनेर कुरा भएको छैन ।’
अनौपचारिक सम्वादका क्रममा भने सम्भावित समझदारीबारे थुप्रै छलफल भएको नेताहरु बताउँछन् । कांग्रेस नेताहरुले संसदबाट एमसीसी अनुमोदन गर्नुअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाउन सक्ने बताएका छन् । एमालेले भने सभामुख अग्निप्रसाद सापकोटा हटाउन चाहेको छ ।
‘सभामुख र माधव नेपालहरुलाई हटाउने हाम्रो हातमा छैन, हाम्रो हातमा मन्त्री हटाउने छ । प्रधानमन्त्रीले कुनै पनि विन्दुमा मन्त्रिपरिषद् पुनर्गठन भन्नुहुन्छ’ एमाले नेताहरुसँग सम्वादमा रहेका कांग्रेस नेता भन्छन्, ‘उहाँहरुको कुरा सकारात्मक नै छ, तर हामीले त सभामुख नै भनेका हौं पनि भन्नुहुन्छ ।’ सभामुख हटाउन चाहिने दुई तिहाइ सुनिश्चित नभएकाले पनि प्रधानमन्त्री देउवा यसमा जान अग्रसर नभएको कांग्रेस नेताहरु बताउँछन् ।
यस्तै कांग्रेसले देउवा सरकारमा एमाले पनि सहभागी होस् भन्ने चाहेको छ, तर एमालेले भने केन्द्रमा होइन, प्रदेश सरकारको नेतृत्व लिने संकेत गरेको छ । आफैंले ‘परमादेश सरकार’ भनेको सरकारमा जान एमालेलाई सहज छैन । त्यो अवस्थामा एमालेले फ्लोरबाट समर्थन गर्ने वा देउवाले राजिनामा दिएर मुलुकलाई ‘अर्ली इलेक्सन’मा लैजान दुवै दल तयार हुनुपर्ने हुन्छ ।
यस्ता विषयमा मसिनो गरी छलफल गरेर सहमति जुट्न बाँकी रहेको दुवै दलका नेताहरु बताउँछन् । ‘कुनै न कुनै समझदारी गरेर यही (कांग्रेस र एमाले मिल्ने) कोर्स अगाडि जाने देखिन्छ’ कांग्रेसका एक नेता भन्छन्, ‘दुवै एकअर्कासँग मिलेर जान खोजेकाले आफ्नो अनुकूल सहमति गर्न खोज्नु स्वाभाविक छ । तर प्रधानमन्त्रीले मन्त्रीहरु हटाएर गठबन्धन छैन भन्ने सुनिश्चितता गर्ने र एमालेले एमसीसी पास गर्न सघाउने समझदारी हुनसक्छ ।’
त्यसो भएमा तत्कालीन प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बनाएको पाँचदलीय गठबन्धन टुट्नेछ । केन्द्र मात्र होइन, प्रदेश सरकारहरु समेत विघटन हुनेछन् । जबकि गठबन्धनको बलमा ६ प्रदेशको सरकारबाट एमाले हटाइएको थियो । कांग्रेस र एमालेबीचको सहमति अघि बढेमा प्रदेशहरुमा कतै एमाले नेतृत्व त कतै एमाले सम्मिलित सरकार बन्नेछ ।
कांग्रेस महामन्त्री गगनकुमार थापा अहिलेको सत्तारुढ गठबन्धन धरापमा परिसकेको बताउँछन् । एमसीसीमा सहयोगको अपेक्षा राखेका प्रधानमन्त्रीले एमालेलाई संसदभित्र आएर मत दिन सजिलो बनाउन गर्न सक्ने सबै प्रबन्धमा छलफल गर्ने बताएको भन्दै बिहीबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग उनले भनेका थिए, ‘गठबन्धन अगाडि जान समस्या रह्यो, धरापमा परिसक्यो ।’
समझदारी भइसकेको माओवादी आशंका
कांग्रेस मात्र होइन, माओवादी केन्द्र पनि प्रमुख विपक्षी एमालेसँग निरन्तर सम्वादमा छ । माओवादी केन्द्रका नेताहरुले आगामी निर्वाचनमा वाम गठबन्धन बनाएर जानसक्ने संकेत गरेका छन् । बिहीबार बानेश्वरमा भएको छलफलमा एमाले अध्यक्ष ओलीका शर्तहरु सुनेपछि माओवादी नेताहरुको निष्कर्ष छ, ‘कांग्रेससँग समझदारी भइसकेछ । खाली बुँदागत टुंग्याउन बाँकी जस्तो छ ।’
कांग्रेससँग सहमति गर्नुअघि एमालेले देखाउन मात्र आफूहरुसँग वार्ता गरेको उनीहरुको आशंका छ । राजनीतिक कोर्स नै फेरिने देखेको माओवादी केन्द्रको नेतृत्वले भोलि पूर्व स्थायी समिति सदस्यहरुको बैठक समेत बोलाएको छ ।
प्रतिक्रिया