बाजुरा ः बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमश: कमजोर हुँदै गएको छ । तर यसको आंशिक असरले नेपालमा आज कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान गरिएको छ ।
यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा तथा हिमपात हुने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो ।
जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमश: कमजोर हुँदै गएको छ । सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ । आज यो थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत हुने सम्भावना छ ।
नेपालमा कहाँकहाँ होला असर ?
गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आजैदेखि नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेका छन् । भोलि यसको प्रभाव थप बढ्ने अनुमान छ ।
महाशाखाका अनुसार यसको प्रभावले कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपातको सम्भावना छ ।





प्रतिक्रिया