गाैमुल खबर डटकम बिहीबार ०६, कार्तिक २०८३ ०४:५८

युवाको सम्मान, खेलाडीको पहिचान : गौमुल-६ मा वडा अध्यक्ष कप हुँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ०४, २०८३
युवाको सम्मान, खेलाडीको पहिचान : गौमुल-६ मा वडा अध्यक्ष कप हुँदै

बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-६ नम्बर वडा कार्यालयको आयोजनामा विजया दशमी तथा शुभदीपावलीको अवसर पारेर महिला तथा पुरुष वडा स्तरीय खुला भलिबल प्रतियोगिता ‘वडा अध्यक्ष कप २०८३’ सञ्चालन हुने भएको छ। खेलकुदको विकास, युवाको प्रतिभा पहिचान, खेलाडीको सम्मान तथा स्थानीयस्तरमा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

वडा अध्यक्ष प्रकाश रोकायाका अनुसार युवालाई खेलकुद मार्फत सकारात्मक गतिविधिमा जोड्न, उनीहरुभित्र रहेको प्रतिभा उजागर गर्न र खेलाडीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र सामूहिक भावनाको विकास गर्नुका साथै समाजमा एकता र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।

‘युवाको ऊर्जा, खेलाडीको प्रतिभा र गौमुलको पहिचान’ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। खेलकुदमा रुचि भएका युवालाई प्रतिस्पर्धाको अवसर दिनुका साथै महिला खेलाडीको सहभागिता र प्रतिभालाई समेत प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

वडा अध्यक्ष रोकायाले खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराउने मात्र नभई उनीहरुको मेहनत, लगनशीलता र प्रतिभाको सम्मान गर्दै खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन्। युवाको सिर्जनशील ऊर्जा सही दिशामा परिचालन गर्न सके समाज परिवर्तन र समृद्धिको यात्रामा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

प्रतियोगिता २०८३ कात्तिक १२ गतेदेखि १४ गतेसम्म गौमुल गाउँपालिका-६, घट्मुनामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक पुरुष तथा महिला टिमले कात्तिक ११ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा पुरुषतर्फ टिम दर्ता शुल्क रु. ४ हजार ५०० र महिलातर्फ रु. २ हजार ५०० तोकिएको छ।

प्रतियोगिताको पुरस्कार राशी अनुसार पुरुषतर्फ विजेता टिमले रु. ४१ हजार र उपविजेता टिमले रु. २१ हजार प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ विजेता टिमलाई रु. १५ हजार र उपविजेता टिमलाई रु. ७ हजार ५०० प्रदान गरिनेछ।

खेलकुद प्रतियोगिता जित र हारको प्रतिस्पर्धा नभई युवाबीच मित्रता, सहकार्य, अनुशासन र सामाजिक एकता बलियो बनाउने हो। स्थानीयस्तरमा खेलाडीको पहिचान स्थापित गर्न र भविष्यमा जिल्ला तथा जिल्लाबाहिरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा उत्पादन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

‘खेलौँ, स्वस्थ रहौँ, समृद्ध गौमुल बनाऔँ’ भन्ने सन्देश सहित आयोजना हुन लागेको वडा अध्यक्ष कपमा खेलप्रेमी युवा, खेलाडी तथा स्थानीयबासीलाई सक्रिय सहभागिताका लागि वडा कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया