बाजुरा ःगौमुल गाउँपालिका-६ घट्मुनामा ‘वडा अध्यक्ष कप-२०८३’ खुला भलिबल प्रतियोगिता सुरु भएको छ। विजया दशमी तथा शुभदीपावलीको अवसरमा वडा नम्बर ६ को कार्यालयले आयोजना गरेको महिला तथा पुरुष वडास्तरीय खुला भलिबल प्रतियोगिताको बिहीबार भव्य उद्घाटन गरिएको हो।
प्रतियोगिताको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत दुर्गादत्त भट्ट, वडा अध्यक्षहरु देव रोकाया, गोरख बोहरा, अमर विक, देवेन्द्र रोकाया र प्रकाश रोकाया लगायतले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो।
वडा अध्यक्ष प्रकाशबहादुर रोकायाका अनुसार युवालाई खेलकुद मार्फत सकारात्मक गतिविधिमा जोड्ने, उनीहरुमा रहेको प्रतिभा उजागर गर्ने तथा खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र सामूहिक भावनाको विकास गर्नुका साथै समाजमा एकता र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘युवाको ऊर्जा, खेलाडीको प्रतिभा र गौमुलको पहिचान’ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको पुरस्कार राशिअनुसार पुरुषतर्फ विजेता टोलीले ४१ हजार रुपैयाँ र उपविजेता टोलीले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ विजेता टोलीलाई १५ हजार रुपैयाँ र उपविजेता टोलीलाई ७ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले स्थानीय युवाको खेल प्रतिभा पहिचान, खेलाडीको मनोबल वृद्धि र गाउँपालिकामा खेलकुद संस्कृतिको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया