बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-६ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन हुने महिला तथा पुरुष वडास्तरीय खुला भलिबल प्रतियोगिता ‘वडा अध्यक्ष कप-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ।
विजया दशमी तथा शुभदीपावलीको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको वडा अध्यक्ष प्रकाशबहादुर रोकायाले जानकारी दिएका छन्।
प्रतियोगिता भोली कात्तिक १२ गते बिहीबार बिहान १० बजे वडा कार्यालयको केन्द्र घट्मुनामा औपचारिक रुपमा उद्घाटन गरिने कार्यक्रम रहेको छ। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुदको विकास, आपसी सद्भाव र भाइचारालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ विजेता टोलीले ४१ हजार रुपैयाँ र उपविजेता टोलीले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, महिलातर्फ विजेता टोलीलाई १५ हजार रुपैयाँ र उपविजेता टोलीलाई सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
खेलमैदान व्यवस्थापन सहित प्रतियोगिता सञ्चालनका लागि आवश्यक अन्य सम्पूर्ण बन्दोबस्त पूरा भइसकेको खेल संयोजक वीरबहादुर रोकायाले बताएका छन्।
वडा अध्यक्ष कपले स्थानीय महिला तथा पुरुष खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउन र स्थानीय स्तरमा खेल संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।





प्रतिक्रिया