बाजुरा ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ’ अभियान अन्तर्गत सदरमुकाम मार्तडीमा आयोजित जनसंवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागी नेता-कार्यकर्ताले जनताका समस्या सुन्ने मात्रै नभई समाधानका स्पष्ट योजना र कार्यान्वयनको प्रतिबद्धता सहित अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
रास्वपा बाजुराको आयोजनामा भएको कार्यक्रममा बडीमालिका, गौमुल, बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदह क्षेत्रका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । पार्टीका केन्द्रीय सदस्य तथा सांसद केपी खनालको नेतृत्वमा आएको टोलीले स्थानीय नेता-कार्यकर्तासँग छलफल गरेको हो । कार्यक्रममा पार्टी सभापति नवराज जैशी सहित प्रदेश तहका नेताहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नागरिकका दुःख-पीडा, गुनासा र अपेक्षा सुन्नु सकारात्मक भएपनि त्यसलाई व्यवहारमा सम्बोधन गर्न ठोस योजना आवश्यक रहेको बताएका थिए । उनीहरूले स्थानीय स्तरमा देखिएका समस्याको पहिचानसँगै समाधानका उपाय, कार्यान्वयनको आधार र जिम्मेवारी समेत स्पष्ट गरेर जनतामाझ जान नेतृत्वलाई सुझाव दिएका छन् ।
‘जनताका दुःख-पीडा सुन्न आउनु सकारात्मक कुरा हो । तर, समस्या सुन्ने मात्रै होइन, समाधान गर्ने योजना पनि लिएर आउनुपर्छ,’ सहभागीहरूको सुझावको सार थियो ।
रास्वपाका नेताहरूले नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्दै पार्टी तथा जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका थिए ।
अभियान मार्फत स्थानीय तहका वास्तविक समस्या पहिचान गर्ने, नागरिकका आवाज सुन्ने र राजनीतिक गतिविधिलाई जनताका आवश्यकतासँग जोड्ने लक्ष्य राखिएको उनीहरूको भनाइ थियो ।
मार्तडीमा सम्पन्न जनसंवादले जनताका समस्या पहिचान र राजनीतिक संवाद विस्तारमा जोड दिएको छ । यद्यपि, अभियानको प्रभावकारिता पहिचान गरिएका समस्याको समाधानका लागि कस्ता योजना बनाइन्छन् र तिनको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयले निर्धारण गर्नेछ ।





प्रतिक्रिया