गाैमुल खबर डटकम शुक्रबार ०७, कार्तिक २०८३ ११:५६

घटाल आधारभूत विद्यालयमा दशैँको रौनक : २० टोलीबीच महिला-पुरुष भलिबल प्रतिस्पर्धा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक ०६, २०८३
घटाल आधारभूत विद्यालयमा दशैँको रौनक : २० टोलीबीच महिला-पुरुष भलिबल प्रतिस्पर्धा सुरु

बाजुरा ः गौमुल गाउँपालिका-६ बासालामा रहेको घटाल आधारभूत विद्यालयमा विजया दशमी तथा शुभदीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा खुला महिला-पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ १३ र महिलातर्फ ७ गरी २० टोलीले सहभागिता जनाएका छन् । खेल संयोजक वीरबहादुर रोकायाका अनुसार पहिलो चरणका खेलमा बीएमसी रजाली, एसवाईसी सटेडा, गौमुल-६ र कौडाकोट टोल विजयी भएका छन् । बाँकी खेलहरु भोली बिहान ७ बजेदेखि सञ्चालन हुनेछन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन नगरी अनौपचारिक रुपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलक चँदारा, शिक्षक अभिभावक संघका अध्यक्ष कलक रोकाया, प्रधानाध्यापक हर्कबहादुर थापा र खेल संयोजक वीरबहादुर रोकायाले संयुक्त रुपमा भलिबल खेलेर प्रतियोगिताको सुरुवात गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाका अनुसार कार्तिक ५ र ६ गते खेलकुद गतिविधि सञ्चालन गरिनेछ भने कार्तिक ७ गते औपचारिक कार्यक्रम सहित भव्य सांस्कृतिक समारोह आयोजना गरिनेछ ।

कार्यक्रम अन्तर्गत महिला तथा पुरुष भलिबल प्रतियोगिताका साथै बृहत् डेउडा प्रतियोगिता, विद्यालयका विभिन्न सदनका नृत्य तथा वडास्तरबाट स्वतन्त्र प्रतिभा प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

खेलकुद र सांस्कृतिक गतिविधि मार्फत विद्यार्थी तथा युवाको प्रतिभा उजागर गर्नुका साथै स्थानीय कला, संस्कृति र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ विजेता टोलीले २१ हजार १११ रुपैयाँ र उपविजेता टोलीले १३ हजार ३१३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, महिलातर्फ विजेता टोलीलाई ५ हजार १११ रुपैयाँ र उपविजेता टोलीलाई ३ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

दशैँ-तिहारको अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक उत्साह अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया