गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८३ ०४:३८

बाजुरामा कांग्रेसलाई ठूलो धक्का : पूर्ववडाध्यक्ष रावल र महाधिवेशन प्रतिनिधि विक रास्वपामा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३०, २०८३
बाजुरामा कांग्रेसलाई ठूलो धक्का : पूर्ववडाध्यक्ष रावल र महाधिवेशन प्रतिनिधि विक रास्वपामा

बाजुरा ः नेपाली कांग्रेसका युवा नेता तथा बडीमालिका नगरपालिका-८ का पूर्ववडाध्यक्ष प्रकाश रावल र कांग्रेस महाधिवेशन प्रतिनिधि वीरबहादुर विक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कांग्रेसको राजनीति छाड्दै दुवै नेता रास्वपामा प्रवेश गरेपछि बाजुराको स्थानीय राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।

रास्वपाका केन्द्रीय सदस्य हेमराज थापा, जिल्ला सभापति नवराज जैसीलगायतका नेताले रावल र विकलाई पार्टीमा स्वागत गरेका हुन्। दुवै नेता बडीमालिका नगरपालिकाकै हुन्। उनीहरूको पार्टी परिवर्तनलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक ध्रुवीकरण र नयाँ राजनीतिक शक्तिप्रतिको बढ्दो आकर्षणसँग जोडेर हेरिएको छ।

रावल कांग्रेस बाजुरा जिल्ला कार्यसमितिमा रहेर काम गरिसकेका नेता हुन्। जिल्ला सहसचिवमा पराजित भएपछि अर्को अधिवेशनमा पदाधिकारी बन्ने अपेक्षासहित पार्टी राजनीतिमा सक्रिय रहेका रावलले कांग्रेसमै रहँदा विभिन्न अवसरसमेत प्राप्त गरेका थिए। कांग्रेससँगको राजनीतिक आबद्धताकै क्रममा उनी युवा परिषद् बाजुराको अध्यक्ष बनेका थिए, जहाँ उनी हाल पनि कार्यरत छन्।

स्थानीय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा रहेका रावल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा प्रतिस्पर्धा गर्दा नेकपा एमालेका चन्द्र थापासँग पराजित भएका थिए। त्यसपछि पनि उनले बडीमालिका नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्दै आएका थिए।

जेनजी आन्दोलनपछि कांग्रेसभित्र देखिएको राजनीतिक ध्रुवीकरणमा रावल सभापति शेरबहादुर देउवा पक्षमा उभिएका थिए भने विक महामन्त्री गगन थापा पक्षमा लागेका थिए। रावलले सामाजिक सञ्जालमार्फत गगन थापाको नेतृत्व र राजनीतिक भूमिकाको आलोचनासमेत गर्दै आएका थिए। तर, कांग्रेसभित्र फरक कित्तामा उभिएका दुवै नेता अन्ततः एउटै नयाँ राजनीतिक गन्तव्यमा पुगेका छन्।

विक पनि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका नेता हुन्। महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा रहेका उनी विभिन्न राजनीतिक तथा सांगठनिक भूमिकामा रहँदै आएका थिए। राजकीय पदमा नरहे पनि पार्टीभित्रका जिम्मेवारीमा निरन्तर अवसर पाउँदै आएका विकको रास्वपा प्रवेशलाई पनि स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

कांग्रेसबाट रास्वपातर्फ युवा आकर्षण

बाजुरामा कांग्रेसका केही नेता तथा कार्यकर्ता रास्वपातर्फ आकर्षित भइरहेका बेला रावल र विकको प्रवेशले यस प्रवृत्तिलाई थप चर्चामा ल्याएको छ। रास्वपाले स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई लक्षित गर्दै ‘क्लब क्यान्डिडेट’ अभियान अघि बढाएपछि वडा तथा पालिकास्तरमा उम्मेदवारीको सम्भावना खोज्नेहरू पनि नयाँ राजनीतिक विकल्पतर्फ आकर्षित भएको हुन सक्ने स्थानीय राजनीतिक वृत्तमा अनुमान गरिएको छ।

यद्यपि, रावल र विकले आफ्नो पार्टी परिवर्तनलाई पद वा उम्मेदवारीको आकांक्षासँग जोड्नुभन्दा परिवर्तनलाई स्वीकार गर्ने निर्णयका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूको प्रवेशले आगामी स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

रास्वपा केन्द्रीय सदस्य हेमराज थापाले परिवर्तनलाई स्वीकार गर्दै नयाँ राजनीतिक यात्रामा जोडिने युवाको संख्या बढिरहेको बताएका छन्। उनका अनुसार नयाँ सोच र राजनीतिक परिवर्तनको अपेक्षासहित रास्वपामा प्रवेश गर्ने क्रम बढ्दो छ।

उता, कांग्रेसका केही नेताहरूले रावल लामो समयदेखि आन्तरिक रूपमा रास्वपासँग निकट गतिविधिमा सक्रिय रहेको दाबी गर्दै आएका थिए। तर, रावलको पछिल्लो निर्णयसँगै उनको राजनीतिक यात्राले औपचारिक रूपमा नयाँ मोड लिएको छ।

पार्टी परिवर्तन मात्रै कि राजनीतिक विकल्पको खोजी ?

रावल र विकको रास्वपा प्रवेशलाई दुई व्यक्तिको पार्टी परिवर्तनका रूपमा मात्रै हेर्न पर्याप्त हुँदैन। कांग्रेसमा लामो समय राजनीति गरेका, सांगठनिक जिम्मेवारी सम्हालेका र स्थानीय तहमा राजनीतिक आधार बनाएका नेताहरू नयाँ दलतर्फ आकर्षित हुनु पुराना राजनीतिक दलप्रतिको अपेक्षा, असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीसँग पनि जोडिन सक्छ।

यद्यपि, दुई नेताको प्रवेशकै आधारमा कांग्रेसको समग्र जनाधार कमजोर भएको वा रास्वपाको जनाधार निर्णायक रूपमा बढेको निष्कर्ष निकाल्न सकिँदैन। यसको वास्तविक प्रभाव आगामी संगठन विस्तार, स्थानीय जनसमर्थन र निर्वाचनमा देखिने परिणामले निर्धारण गर्नेछ।

बाजुराको राजनीतिमा रावल र विकको नयाँ यात्रा व्यक्तिगत राजनीतिक निर्णय मात्र नभई बदलिँदो राजनीतिक मनोविज्ञानको एउटा संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया