गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ११:४७

आज एनपीएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्ने

एनपीएल
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष ०४, २०८१
आज एनपीएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्ने

काठमाडौं : आज हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायर खेल्न लागेको हो।

बुधबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो। बुधबार कर्णालीले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सकेको थियो। चितवनका रवि बोपराले ५३ रनको अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

आक्रामक ब्याटिङ गरेका उनले ३४ बलमा चार छक्का र तीन चौका हिर्काएका थिए। यस्तै कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लुक बेनकेन्स्टाइनले १६ र शरद् भेषावकरले १० रन बनाए। कर्णालीका जिसन मक्सुदले तीन विकेट लिए।

यस्तै कप्तान सोमपाल कामी र नन्दन यादवले दुई-दुई तथा विपिनप्रसाद शर्माले एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रनको विशाल योगफल खडा  गरेको थियो।

कर्णालीका जयकिसन कोल्सावाला र विलियम बसिस्टोले अर्धशतकीय पालि खेलेका थिए। एनपीएलमा पहिलो खेल खेलेका भारतीय खेलाडी कोल्सावालाले ३९ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ५३ रन बनाए।

यस्तै बसिस्टोले ३९ बलमा दुई छक्का र ६ चौकाको मद्दतमा ५२ रन बनाए। कर्णालीको योगफल बढाउन आक्रामक ब्याटिङ गरेका चाडविक वाल्टनले अविजित ४६ रन बनाए।

उनले २३ बलमा तीन छक्का र चार चौका प्रहार गरे। जिसन मक्सुदले १४ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। चितवनका सोहेल तनभिरले दुई विकेट लिए। यस्तै शरद् भेषावकर, कुशल मल्ल र रवि बोपराले एक/एक विकेट हात पारे।

प्रतिक्रिया