बाजुरा ःबाजुराको गौमुल गाउँपालिका-६ नम्बर वडा कार्यालयले आयोजना गर्न लागेको महिला तथा पुरुष वडास्तरीय खुला भलिबल प्रतियोगिता ‘वडा अध्यक्ष कप-२०८३’ मा सहभागी हुने खेलाडीले आफ्नो वडा कार्यालयको सिफारिस र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित आवश्यक कागजात अनिवार्य पेस गर्नुपर्ने भएको छ ।
विजया दशमी तथा शुभदीपावलीको अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुने खेलाडीले आवश्यक कागजात पूरा गरेर मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक महिला तथा पुरुष टिमलाई समयमै टिम दर्ता गरी आवश्यक कागजातसहित सहभागिता सुनिश्चित गर्न वडा कार्यालयले आग्रह गरेको छ ।
प्रतियोगिता २०८३ कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गतेसम्म गौमुल गाउँपालिका-६, घट्मुनामा सञ्चालन हुनेछ । टिम दर्ताको अन्तिम मिति कात्तिक ११ गते तोकिएको छ । प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ चार हजार पाँच सय रुपैयाँ र महिलातर्फ दुई हजार पाँच सय रुपैयाँ टिम दर्ता शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ विजेता टिमले ४१ हजार रुपैयाँ र उपविजेता टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फ विजेता टिमले १५ हजार रुपैयाँ र उपविजेता टिमले सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
वडा अध्यक्ष प्रकाश रोकायाका अनुसार युवालाई खेलकुद मार्फत सकारात्मक गतिविधिमा जोड्ने, उनीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्ने तथा खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र सामूहिक भावनाको विकास गर्नुका साथै समाजमा एकता र सहकार्यको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । प्रतियोगिताले स्थानीयस्तरमा खेल संस्कृतिको प्रवर्द्धन गर्दै महिला तथा पुरुष खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
‘युवाको सम्मान, खेलाडीको पहिचान’ भन्ने भावना सहित आयोजना हुन लागेको वडा अध्यक्ष कपले गौमुलका युवाको प्रतिभा उजागर गर्नुका साथै स्थानीय खेलकुदको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
‘खेलौँ, स्वस्थ रहौँ, समृद्ध गौमुल बनाऔँ’ भन्ने सन्देशसहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन खेलाडी, खेलप्रेमी युवा तथा स्थानीयबासीलाई वडा कार्यालयले आग्रह गरेको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा तोकिएका अन्य आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।





प्रतिक्रिया