बाजुरा ः दसैँ-तिहारको उल्लाससँगै नेपाली जनजिब्रोमा गुञ्जिने लोकप्रिय गीत ‘पहेली धानका बाला’को जन्मकथा जति रोचक छ, यसका परिकल्पनाकार र गायकको सांस्कृतिक भेट पनि त्यति नै अर्थपूर्ण बन्ने भएकाे छ।
२०६१ सालमा भारतको सुरतमा भाँडा माझ्दै गर्दा गौमुल गाउँपालिका-४ का अमर वि.क.को मनमा ‘पहेली धानका बाला’ गीतको परिकल्पना जन्मिएको थियो। परदेशमा पसिना बगाउँदै गरेको अवस्थामा मनमा उम्रिएको त्यो सिर्जनाले पछि गीतको रुप लियो।
सुदूरपश्चिमका लोकप्रिय गायक प्रकाश थापाको स्वरमा सजिएपछि गीतले थप लोकप्रियता कमायो र दसैँ-तिहारको सांस्कृतिक उमंगसँग जोडिन पुग्यो।
संयोग कस्तो भने, कुनै समय परदेशमा श्रम गर्दै यो गीतको परिकल्पना गर्ने अमर अहिले गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष हुनुहुन्छ। उहाँकै वडामा आज (कात्तिक १६ गते) देखि तीनदिने दशैँ-दीपावली विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रम सुरु हुँदैछ। कार्यक्रममा ‘पहेली धानका बाला’लाई स्वर दिने गायक प्रकाश थापाको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
एउटै सिर्जनाका परिकल्पनाकार र स्वरका धनी आज एउटै सांस्कृतिक उत्सवमा जोडिनु यस कार्यक्रमको विशेष आकर्षण बनेको छ। कार्यक्रममा डेउडाको मौलिक भाका, गीत-संगीत, भलिबल प्रतियोगिता सहित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष अमर वि.क.का अनुसार चाडपर्वको अवसरमा आपसी भेटघाट, आत्मीयता र शुभकामना आदानप्रदान गर्दै सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मौलिक पहिचानको संरक्षण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
उनका अनुसार मनोरञ्जनसँगै खेलकुद, कला, संस्कृति र सामाजिक एकतालाई प्राथमिकता दिएर कार्यक्रम आयोजना गरिएको हो। आफ्नो माटोको पहिचान जोगाउने र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने साझा अभियानका रूपमा यसलाई अघि बढाइएको उहाँले बताउनुभयो।
परदेशमा श्रम गर्दै जन्मिएको एउटा सांगीतिक परिकल्पना आज चाडपर्वको उल्लाससँगै हजारौँ नेपालीको सम्झनामा गुञ्जिरहेको छ। त्यसै सिर्जनाका परिकल्पनाकार अमरकै वडामा गीतका गायक प्रकाश थापाको प्रस्तुति रहने संयोगले गौमुल-४ को यस वर्षको सांस्कृतिक उत्सवलाई थप अर्थपूर्ण बनाएको छ।
कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भई डेउडाको मौलिक भाकामा रमाउन, खेलकुदको रोमाञ्चक प्रतिस्पर्धा हेर्न र सुदूरपश्चिमको कला-संस्कृतिको उत्सवमा सहभागी हुन आयोजकले स्थानीयबासी, आसपासका क्षेत्रका नागरिक तथा खेलप्रेमीलाई निमन्त्रणा गरेको छ।





प्रतिक्रिया