बाजुरा ः तिहारलाई लक्षित गर्दै बडीमालिका नगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री-वितरणमा रोक लगाउने निर्णय गरेको छ।
नगरपालिकाले स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूल तथा मालाको प्रयोग र बिक्री-वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले कात्तिक १७ गते जारी गरेको सूचना मार्फत तिहारको अवसरमा नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, प्लास्टिकका माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री-वितरण नगर्न अनुरोध गरेको हो।
नगरपालिकाले स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री-वितरणलाई प्राथमिकता दिन सबै व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।
सूचनामा प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री-वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने र सम्बन्धित पक्षलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
तिहारमा फूलमालाको माग बढ्ने समयमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले नगरपालिकाले यस्तो सूचना जारी गरेको जनाएको छ।
नगरपालिकाको यस आग्रहले स्थानीय किसानले उत्पादन गरेका प्राकृतिक फूलको बजार विस्तार हुनुका साथै वातावरणमैत्री तिहार मनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया