बाजुरा ःनेपाली जनजिब्रोमा दसैँ-तिहारको उल्लाससँगै गुञ्जिने लोकप्रिय गीत ‘पहेली धानका बाला’का परिकल्पनाकार र गीतलाई स्वर दिने गायक एउटै सांस्कृतिक उत्सवमा जोडिने भएका छन्।
गौमुल गाउँपालिका-४ मा जारी दशैँ–दीपावली विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रमको अन्तिम दिन भोली (कात्तिक १८ गते) बुधबार सुदूरपश्चिमका लोकप्रिय गायक प्रकाश थापाको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ।
यस प्रस्तुतिको विशेष आकर्षण गीतका परिकल्पनाकार अमर वि.क.कै वडामा गायक थापाको सांगीतिक प्रस्तुति हुनु हो। २०६१ सालमा भारतको सुरतमा परदेशी श्रमिकका रूपमा भाँडा माझ्दै गर्दा अमरको मनमा ‘पहेली धानका बाला’ गीतको परिकल्पना जन्मिएको थियो। परदेशमा श्रम र संघर्ष गरिरहेको बेला मनमा उम्रिएको त्यो सिर्जनाले पछि गीतको रुप लियो।
सुदूरपश्चिमका लोकप्रिय गायक प्रकाश थापाको स्वरमा सजिएपछि गीतले व्यापक लोकप्रियता कमायो। विशेषगरी दसैँ-तिहारको समयमा यस गीतले नेपाली गाउँबस्ती र जनजिब्रोमा छुट्टै स्थान बनाउँदै आएको छ।
समयको संयोग पनि उत्तिकै रोचक छ। कुनै समय परदेशमा पसिना बगाउँदै गीतको परिकल्पना गरेका अमर अहिले गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष छन्।
उनकै नेतृत्वको वडामा आयोजित सांस्कृतिक उत्सवमा भोली उक्त गीतका गायक प्रकाश थापाले प्रस्तुति दिँदैछन्। एउटै सिर्जनाका परिकल्पनाकार र स्वरका धनी एउटै मञ्चको सांस्कृतिक उत्सवमा जोडिनु कार्यक्रमको विशेष आकर्षण बनेको छ।
वडा अध्यक्ष अमर वि.क.का अनुसार मनोरञ्जनमा मात्र सीमित नभई खेलकुद, कला, संस्कृति र सामाजिक एकतालाई प्राथमिकता दिएर कार्यक्रम आयोजना गरिएको हो।
आफ्नो माटोको पहिचान जोगाउँदै मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने साझा अभियानका रुपमा कार्यक्रम अघि बढाइएको उनले बताएका छन् ।
परदेशको श्रम भूमिमा जन्मिएको एउटा सांगीतिक परिकल्पना आज हजारौँ नेपालीको मनमा गुञ्जिरहेको छ। त्यहीँ सिर्जनाका परिकल्पनाकारको आफ्नै वडामा त्यसलाई स्वर दिने गायकको प्रस्तुति रहनुले गौमुल-४ को यस वर्षको सांस्कृतिक उत्सवलाई थप विशिष्ट र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्तिम दिन भोली हुने गायक प्रकाश थापाको विशेष सांगीतिक प्रस्तुति र सांस्कृतिक गतिविधिमा सहभागी हुन आयोजकले स्थानीयबासी, आसपासका क्षेत्रका नागरिक तथा संगीत प्रेमीलाई आग्रह गरेको छ।





प्रतिक्रिया