बाजुरा ः प्रथम बडीमालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जाल्पा माध्यमिक विद्यालय पिनालेखले जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा त्रिवेणी नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै जाल्पा माविले उपाधि उचालेको हो।
बडीमालिका नेचर प्रा.लि.बाजुराको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा जाल्पा माविले त्रिवेणी नगरपालिकालाई ३-० को सेटमा पराजित गरेको आयोजक संस्थाका अध्यक्ष कृष्ण ओलीले जानकारी दिए।
फाइनल खेलको पहिलो सेटमा जाल्पा माविले २५-२३, दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१६ को जित निकालेको थियो। तीनवटै सेटमा उत्कृष्ट प्रदर्शन गर्दै जाल्पा माविले उपाधि माथि कब्जा जमाएको हो।
उपाधि विजेता जाल्पा माविले नगद एक लाख ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको त्रिवेणी नगरपालिकाले नगद ९९ हजार ९९९ रुपैयाँसहित ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। लिग चरणदेखि क्वार्टरफाइनल र सेमिफाइनलसम्मका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जाल्पा मावि र त्रिवेणी नगरपालिका फाइनलमा पुगेका थिए। प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।
आगामी वर्ष दुई लाखको पुरस्कार सहित प्रतियोगिता गर्ने घोषणा
खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवर्द्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बडीमालिका नेचर प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए।
‘प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितालाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउने आयोजकको लक्ष्य छ। यसैअनुरूप बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै जिल्लाकै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको थापाले बताए।
आगामी वर्ष विजेता टोलीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ। बुढीगंगा नगरपालिका–३ घर भई हाल अस्ट्रेलियामा रहेका अर्जुन भण्डारीले आगामी प्रतियोगिताका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आयोजकले पुरस्कार राशि बढाउने घोषणा गरेको हो।
कार्यकारी निर्देशक थापाका अनुसार हिमाली तथा पर्वतीय क्षेत्रको पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्ने उद्देश्य प्रतियोगिताले बोकेको छ।
भलिबलमा योगदान पुर्याउने दुई खेलाडी सम्मानित
बडीमालिका नेचर प्रालिले जिल्लामा भलिबल खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्याएका दुई जनालाई सम्मान गरेको छ।
सम्मानित हुनेमा पूर्वभलिबल खेलाडी तथा बाजुरा भलिबल संघका अध्यक्ष सुरेन्द्र रौले र भलिबल खेलाडी बलबहादुर रोकाया रहेका छन्। उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ।
जिल्लाबाट प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदै भलिबल खेलको विकासमा पुर्याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
प्रकृति संरक्षणको सन्देश प्रवाह गर्दै खेलकुदको विकास, स्थानीय प्रतिभाको प्रोत्साहन र पर्यटन प्रवर्द्धनलाई एकसाथ अघि बढाउने लक्ष्यसहित आयोजित प्रथम बडीमालिका कपले जिल्लाको खेलकुद क्षेत्रलाई थप सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया