गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३३
Dho

जनप्रतिनिधी बन्ने आशमा बाजुराका ५ जनाले दिए शिक्षकबाट राजीनामा

गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २७, २०७८
जनप्रतिनिधी बन्ने आशमा बाजुराका ५ जनाले दिए शिक्षकबाट राजीनामा

बाजुरा : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन बाजुराका पाँच जना शिक्षकले पेशाबाट राजीनामा दिएका छन् । निर्वाचनमा उम्मेदवारी लिएर जनप्रतिनिधी बन्ने आशमा पाँच जनाले स्थायी शिक्षण पेशाको जागिरबाटै राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा हिमाली गाउँपालिका बडीमालिका मावि धिममा कार्यरत बिष्णुलाल पाण्डे, सोही गाउँपालिकाको भवानी माविका शिक्षक दल बहादुर मल्ल, बुढीनन्दा नगरपालिका नन्देश्वरी माविका शिक्षक गजेन्द्र बहादुर शाही, त्रिबेणी नगरपालिका पार्वती माविमा कार्यरत शिक्षक कर्णबहादुर थापा र खप्तड छेडेदह गाउँपालिका मष्टेश्वरी माविमा कार्यरत शिक्षक खडक बहादुर बुढा रहेका छन् । 


पाँचै जनाले पेशा छोड्ने मञ्जुरी सहीत लिखित रुपमा राजीनामा दिएको जिल्ला शिक्षा विकास समन्वय ईकाई बाजुराले जनाएको छ । राजीनामा दिने मध्ये चार जना नेपाल शिक्षक संघ र १ जना गजेन्द्र बहादुर शाही नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध छन् ।

शिक्षक महासंघ बाजुराका पूर्व सचिव शाही आधारभूत तहमा कार्यरत शिक्षक हुन् । भने नेपाल शिक्षक संघमा आवद्ध शिक्षक विष्णुलाल पाण्डे श्रोत व्यक्ति समेत भएर कार्यरत मावि तहका शिक्षक हुन् ।

राजीनामा दिने कर्णबहादुर थापा लामो समय नेपाल शिक्षक संघको जिल्ला नेतृत्व सम्हालेर शिक्षक महासंघको केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका छन् । दलबहादुर मल्ल र खडक बहादुर बुढाले पनि शिक्षक संघको राजनीतिमा लामो समय बिताएका छन् । 

हिमाली, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा नेपाली काँग्रेसको सहज जित हुने दाबी सहीत टिकट लिनकै लागि पदबाट राजीनामा दिएको अनुमान गरिएको छ । राजीनामा दिएका मध्ये विष्णुलाल पाण्डे र दलबहादुर मल्लले हिमाली गाउँपालिकाको अध्यक्षमा दाबी गरेका छन् । भने कर्णबहादुर थापाले त्रिवेणी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।

यस्तै खडकबहादुर बुढाले खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गजेन्द्र बहादुर शाहीले बुढीनन्दा नगरपालिकाको नगर प्रमुखमा घोषणा नगरेपनि आकांक्षा राख्न सक्ने अनुमान गरिएको छ ।

लामो समयदेखि सक्रिय राजनीतिमा लागेकाहरुलाई बाहिर राखेर शिक्षक पेशाबाट आएकाहरुलाई टिकट दिन नहुने मत काँग्रेस भित्रै बढी संख्यामा देखिएपनि पार्टी निर्माणमा आफूहरुको योगदान अरुको भन्दा कम नभएको दाबी राजीनामा दिएका शिक्षक नेताहरुको छ ।

चैत्रको तेस्रो सातासम्म पाँच जना शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा समन्वय ईकाई बाजुराले बताएको छ । पदबाट अवकाश र स्वइच्छीक राजीनामा अरुबेला आएपनि पाँच जनाले विशुद्ध निर्वाचन केन्द्रीत राजीनामा दिएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि चार जना शिक्षकले पदबाट राजीनामा दिएका थिए । तर ती मध्ये कोहीले पनि टिकट भने पाएका थिएनन् ।

उदेश्य जे भएपनि पाँच जनाले राजीनामा स्वीकृतिका लागि निवेदन दिएको जिल्ला शिक्षा समन्वय ईकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका छन् । राज्यको सुविधा भोग गरेका व्यक्तिहरुले प्रत्यक्ष राजनीतिमा जोडिएका व्यक्तिहरुलाई विस्थापित गर्ने गरि राजीनामा दिने र पदमा आश गर्ने कुरा दलिय व्यवस्थामा विधी पद्धती र न्यायीक नहुने मत बहुसंख्यकको छ । 

तर पनि उहाँहरुले आफ्नो योगदान पार्टी निर्माणमा कसैको भन्दा कमी नभएको दाबी गर्ने गरेका छन् । पदबाट राजीनामा दिने र निर्वाचनमा भाग लिने शिक्षक कर्मचारीहरु काँग्रेस आस्थावना बढी देखिएका छन् । 

प्रतिक्रिया