काठमाडौं : भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नबका कारण आन्ध्र प्रदेशमा सातजनाको मृत्यु भएको छ। रुख ढल्दा,करेन्ट लाग्दा,पर्खाल भत्किँदा तथा चक्रवातसँग सम्बन्धित अन्य घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बिहीबार बिहान २ बजेदेखि ८ बजेसम्मको अवधिमा तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले आन्ध्र प्रदेश र केन्द्रशासित प्रदेश पुदुचेरीको यानम आसपासका क्षेत्रमा भारी वर्षा गराएको छ।
यानम नजिकै जमिनमा प्रवेश गरेपछि चक्रवात अर्नबको तीव्रता भने घटेको छ। यसअघि अत्यन्त शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा कमजोर बनेको हो। साँझसम्म यसको तीव्रता थप घटेर सामान्य चक्रवाती आँधी र त्यसपछि गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ।
चक्रवातको प्रभावबाट जोगाउन आन्ध्र प्रदेश र ओडिसामा गरी एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आन्ध्र प्रदेशका एलुरु, पश्चिम गोदावरी र विजयनगरमसहित १० भन्दा बढी जिल्लाका सयौं गाउँ प्रभावित भएका छन्।
तल्लो भूभागमा २०० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। चक्रवातबाट भएको क्षतिको मूल्याङ्कन गर्न केन्द्रीय टोली पठाइदिन आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखेका छन्।
चक्रवातको प्रभावका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलमा हवाई सेवा स्थगित गरिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। ओडिसाको भुवनेश्वर विमानस्थलका निर्देशक प्रसन्न प्रधानका अनुसार विमानस्थलमा अधिकांश उडान सामान्य अवस्थामा रहे पनि भुवनेश्वर–जेपोर–विशाखापट्टनम मार्गमा सञ्चालन हुने नौ सिट क्षमताको एउटा उडान रद्द गरिएको द इण्डिएन एक्सप्रेसमा समाचार उल्लेख छ।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले पूर्वतयारी र समयमै गरिएको उद्धारका कारण राज्यमा मानवीय क्षति हुन नदिने लक्ष्य हासिल भएको बताएका छन्। चक्रवातका कारण उत्पन्न अवरोधलाई ध्यानमा राख्दै ओडिसाको जेपोर परीक्षा केन्द्रमा सञ्चालन हुने राज्य लोकसेवा आयोगको मुख्य परीक्षा पुनःनिर्धारण गर्न सांसद सप्तगिरि शंकर उलाकाले आग्रह गरेका छन्।
यसैबीच,भारतको मौसम विभागले पश्चिम बंगालका केही क्षेत्रमा शनिबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। चक्रवातको प्रभावलाई ध्यानमा राख्दै छत्तीसगढका सुकमा,नारायणपुर,बिजापुर, दन्तेवाडा र राजनन्दगाउँलगायत जिल्लामा विद्यालयसमेत बन्द गरिएका छन्।





प्रतिक्रिया