गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१३
Dho

गौमुलका महिलाले श्रमदानमा ३ लाख बराबरको बनायो आमा समूहको भवन

जिल्ला समन्वय समिति प्रमुख रोकायाद्धारा उद्घाटन
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ २५, २०८१
गौमुलका महिलाले श्रमदानमा ३ लाख बराबरको बनायो आमा समूहको भवन

बाजुरा : गौमुल गाउँपालिकामा सामाजिक कार्यमा महिलाको सक्रियता बढेको छ । पछिल्लो समय विकास निर्माण र समाज परिवर्तन गर्न महिलाहरु सक्रिय रुपमा लाग्ने गरेका छन् ।

महिला घरयासी काममा मात्रै व्यस्त छैनन् आफ्नो गाउँको विकास आफै गर्नुपर्छ भन्ने धारणासहित विकास निर्माणका कार्यदेखि रुपान्तरण सम्मका काममा पनि उत्तिकै व्यस्त देखिने गरेका छन् । सोही पालिकाको वडा नं.६ बसालाका महिलाहरुले एक उदाहरणीय काम गरेकी छन् ।

महिलाले श्रमदानमा आमा समूह र वन उपभोक्ताको भवन निर्माण गरेकी छन् । बसालामा समाज सुधार आमा समुह र ब्रमदेव सामुदायिक वनको ३ लाख बराबरको श्रमदानमा २ कोठे भवन निर्माण गरेका हुन् । केही स्थानीय अगुवाको निर्माण सामाग्री सहयोग र आफूहरुको श्रमदानमा भवन निर्माण गरिएको समाज सुधार आमा समूहका अध्यक्ष शान्ती रोकायाले बताएकी छन् ।

गाउँमा हुने विभिन्न गतिविधी सञ्चालन गर्न कठिनाई हुने गरेपछि भवन निर्माण गरिएको समूहका सल्लाहकार कल्पना थापा रोकायाले बताएकी छन् । समूहका वैठक, भेला कार्यक्रम र कार्यालयको कामकाज गर्न बाहिर बसेर गर्नुपर्ने अवस्थाको अन्त्य गर्न महिलाको सक्रियतामा भवन निर्माण गरिएको र अब उक्त कार्यमा सहजता हुने उनले बताईन् ।

भवन निर्माणका लागि गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले ३५ हजार बराबरका जस्ता पाता, पालिका कर्मचारी श्याम रोकाया २५ सय, जिल्ला समन्वय समिति कर्मचारी एवं स्थानीय हिमाल थापा ३५ सय, सुरेन्द्र रोकाया ३५ सय बराबर ढुवानी, कलक रोकाया ७ हजार, रेगे थापा २ हजार, घटाल आवि २ हजार बराबरको झ्याल ढोका र कार्यालय व्यवस्थापनका लागि सरस्वती आविले ३५ सय बराबरका कुर्सी टेबुल सहयोग गरेको स्थानीय समेत रहेका हिमाल थापाले जानकारी दिएका छन् ।        

आमा समुहको नवनिर्मित भवनको शुक्रबार एक भव्य कार्यक्रमकाबीच बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्दै रोकायाले घरयासी काममा मात्रै व्यस्त देखिने महिलाको पछिल्लो समयको कामले केही परिवर्तनको जग बसेको बताउँदै खुशी व्यक्त गरेका छन् ।

महिलाको प्रशंसायोग्य कामले ठुला योजना र पैसाले मात्रै विकास सम्भव छ, भन्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको बताउँदै यो सबैले सिक्न र बुझ्न जरुरी रहेको बताएका छन् । उनले बनाएका संरचनाको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै निर्माणाधीन संरचनाको संरक्षण गर्न समेत आग्रह गर्नुभएको छ ।

भवन उद्घाटन कार्यक्रममा २०७६ असोज १५ गते स्थापन भएको समाज सुधार आमा समूहको प्रगति प्रतिवेदन समेत सार्वजनिक गरेको थियो । समुहले २०७५ असोज महिना सम्मको बचत ५ हजार, देउसी भैलो खेलेर तीन वर्षमा ४२ हजार ८ सय ६५ रपैयाँ आम्दानी भएको देखाएको छ । 

२०७५ देखि २०८१ जेठसम्म मासिक वचत ११ हजार ८ सय ९५, हर्जनाबाट २६० रुपैया आम्दानी सहीत हाल सम्म १ लाख ६६ हजार २ सय रुपैयाँ बराबरको समुहले कारोबार गरेको बताईएको छ । जनक थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो । 

त्यस्तै विशिष्ट अतिथिमा सिमधारा लद्युजल विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष कलक रोकाया, सरस्वति आविका प्रअ वीरबहादुर रोकाया रहनुभएको थियो । कार्यक्रममा समुहका सचिव प्रतिक्षा थापाले स्वागत गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन ब्रमदेव सामुदायिक वनका सचिव प्रकाश रोकायाले गर्नुभएकाे थियाे । 

प्रतिक्रिया