बाजुरा ःबाजुराको गौमुल गाउँपालिकाले रैथाने बाली कोदोको उत्पादन तथा खेती विस्तारलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई प्रतिकिलो १० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने भएको हो।
रैथाने बालीको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत न्यूनीकरण तथा कोदो खेतीको विस्तारमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार कम्तीमा ५ क्विन्टल भन्दा बढी कोदो उत्पादन गर्ने कृषकले मात्र अनुदान प्राप्त गर्नेछन्। आवेदनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कार्यालयले तोकेको ढाँचामा आवेदन फाराम, सम्बन्धित व्यक्तिको चेकको प्रतिलिपि तथा जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि तथा स्थानीय कृषि उपजमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने अपेक्षा सहित गाउँपालिकाले उक्त कार्यक्रम अघि सारेको हो।
उत्पादनमा आधारित प्रोत्साहनले किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्नुका साथै स्थानीय स्तरमा रैथाने बालीको व्यावसायिक उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया