गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३८
Dho

बाजुरा एमालेको अधिवेशनको तयारी तीव्र, जिल्ला अधिवेशन ज्येष्ठ १, २ र ३ गते मार्तडीमा हुने

वैशाख २४ गते एकै दिन नौ वटै पालिकामा प्रतिनिधी छनोट गरिने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख २३, २०८१
बाजुरा एमालेको अधिवेशनको तयारी तीव्र, जिल्ला अधिवेशन ज्येष्ठ १, २ र ३ गते मार्तडीमा हुने

बाजुरा : नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । जेष्ठ १ देखि ३ गतेसम्म मार्तडीमा हुने अधिवेशनको तयारी तीव्र पारिएको हो ।

पार्टी जिल्ला कमिटीको १३ औं बैठकले जेष्ठ १ देखि ३ गतेसम्म बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको थियो ।

२६ गतेभित्र अधिवेशन प्रतिनिधी तोकेर र ३० गतेभित्रै सबै तयारी गर्ने गरी कार्यतालिका बनाएर तयारी थालिएको पार्टी सचिव काशी विकले बताएका छन् ।

एमाले बाजुराले जिल्ला अधिवेशनका लागि मिति तय गरेको यो तेस्रो पटक हो । यस अघि पौष २६ र २७ गते कोल्टीमा र चैत्र १६ र १७ गते मार्तडीमा गर्ने गरि मिति तोकिएको थियो ।

जेष्ठ भित्र गरिसक्नु पर्ने पार्टी केन्द्रको सर्कुलर अनुसार नै सबै तिरको उचित व्यवस्थापन र तयारीका साथ अधिवेशन भव्य रुपमा गर्न लागिएको उपाध्यक्ष जनक कुमार बोहराले जानकारी दिएका छन् ।

पार्टी जिल्ला कमिटीको मार्तडीमा बसेको बैठकले बैशाख २४ गते एकै दिन नौ वटै पालिकामा प्रतिनिधी छनोट गर्ने तालिका पनि तय गरेको छ ।

खुला तर्फ ७५ जना संगठीत सदस्य बराबर एक, दलित ५० जना बराबर एक र जनजाती १५ जना बराबर एक जनाप्रतिनिधी छनोट हुन पाउने गरी निर्णय गरिएको छ । ११ हजार बढी सदस्य संख्या रहेको एमाले बाजुरामा करिब ४ सयको संख्यामा प्रतिनिधी आउने अनुमान गरिएको छ ।

त्यसैगरी १ सय १० जना बढीको जिल्ला कमिटी र २५ बढीको संख्यामा सल्लाहकार समितिबाट प्रतिनिधी र जिल्लामा सक्रिय जनसंगठन मध्येबाट प्रत्येक संगठनबाट २ जनाका दरले प्रतिनिधी हुन पाउने गरि निर्णय गरिएको छ ।

बैठकले संगठन विभाग प्रमुख अमर खड्का संयोजक हिक्मत थापा उपसंयोजक र राजन रोकाया सदस्य रहेको प्रतिनिधी व्यवस्थापन समिति, धनबहादुर रावत संयोजक र कृष्ण ओली सहसंयोजक सहीत ११ सदस्य प्रचार प्रसार समिति, कृष्ण बम संयोजक रहेको स्वयम सेवक परिचालन समिति, मन्देवी ओली संयोजक रहेको अतिथी सत्कार समिति गठन गरिएको छ ।

यसैगरी डम्मर महत संयोजक रहेको मञ्च व्यवस्थापन समिति, जनक विष्ट संयोजक रहेको आर्थिक व्यवस्थापन समिति, तुलाराम जैशी संयोजक रहेको खाद्यन्न तथा आवास व्यवस्थापन समिति, गोपाल सिंह रहेको स्वास्थ्य सुरक्षा समिति, विनोद कुमार बाजुराली संयोजक रहेको साँस्कृतिक प्रस्तुती तयारी समिति गठन गरिएको छ ।

अध्यक्ष भरत थापाले राजनीतिक, सचिव काशी विकले सांगठनीक र आर्थिक विभाग प्रमुख जनक विष्टले आर्थिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी तोकिएको छ । अध्यक्ष भरत थापा संयोजक रहेको अधिवेशन आयोजक मुल समिति गठन गरेको छ ।

भने उपाध्यक्ष जनक कुमार बोहरालाई सबै उप समितिको काम कारवाहीलाई सहजिरकण तथा अनुमगन गर्ने जिम्मेवारी दिएको छ । पार्टी इन्चार्ज भैरवबहादुर सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य लालबहादुर थापा, प्रदेश सदस्य गगन रावल सहीत अतिथी थिए ।

बैशाख २१ गते पनि पार्टी कार्यालयमा बसेको बैठकले सबैको ध्यान जिल्ला अधिवेशनका केन्द्रीत गर्ने निर्णय गरेको छ । तत्कालिन पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि पदाधिकारी मध्येबाट सचिवलाई संयोजक बनाउने कि पहिलेकै अध्यक्षबाट अधिवेशन गर्ने भन्नेमा सुरुदेखि विवाद भएको थियो ।

सुरुमा पहिलेकै कमिटीले अधिवेशन गर्ने निर्णय गरिएको थियो । पछि त्यो विधान विपरित भन्दै संगठन विभागमा उजुरी परेको थियो । उजुरी पछि प्रदेश कमिटीले पुरानै कमिटीको अध्यक्षतामा बैठक बसेर नयाँ व्यक्तिलाई जिम्मेवारी दिएर अधिवेशन गर्न पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा जिल्ला कमिटीको बैठक बसेर सचिव भरत थापालाई अध्यक्ष, उपसचिव जनक कुमार बोहरालाई उपाध्यक्ष र कार्यालय सचिव काशी विकलाई सचिवको जिम्मेवारी दिएर अधिवेशन गर्ने कमिटी घोषणा गरिएको थियो । यो पटकको निर्णयले अधिवेशन हुनेमा आशंका गर्नु पर्ने अवस्था नरहने देखिएको छ ।

नेताहरुले पनि सम्पूर्ण ध्यान अधिवेशनमा लगाउने बताएका छन् । जिल्लामा नेतृत्वमा लागि अध्यक्ष भरत थापा र लालबहादुर ओली बीच प्रतिस्पर्धा हुने देखिएको छ । रंगमान शाहीले पनि आफ्नो आकांक्षा अघि सारेको बुझिएको छ ।

प्रतिक्रिया