गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५५
Dho

कांग्रेसलाई पराजित गर्दै इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी

खड्का ५८३० मतले पराजित
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख १८, २०८१
कांग्रेसलाई पराजित गर्दै इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम : प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

‘जितको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र मेरो पार्टी नेकपा एमालेलाई दिन चाहन्छु ,’ जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भने,‘पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव थिएन ।’

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेको यो निर्णयलाई धेरैले परिवारवादको आरोप पनि लगाएका थिए । एमालेका केही नेता कार्यकर्ताहरुको असन्तुष्टिलाई चिर्दै एमालेले निर्णय नफेर्ने अडान लिएको थियो । उम्मेदवारी दर्तापछि सुहाङको पक्षमा जनाधार सिर्जना गर्न एमाले अध्यक्षसहितका दर्जनौं नेता पटकपटक इलाम आएका थिए ।

जसले एमालेभित्रको असन्तुष्टि मेट्न सहयोग गर्‍यो । ‘पार्टीको निर्णयलाई लागू गर्न हामी एक ढिक्का भएर लाग्यो र आज यो नतिजा हात लाग्यो’, एमालेका जिल्ला नेता उमेश गुरुङले भने ।अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ ।

प्रदेश-१ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार थिए, पहिचानवादी नेता डकेन्द्र सिं थेगिम । विगतमा शिक्षक रहेका उनी पछिल्लो समय प्रदेश नम्वर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पनि हुन् ।

एमाले–कांग्रेस जस्ता मूलधारका राजनीतिक शक्तिबीचबाट एकाएक नयाँ शक्तिको रुपमा उदाएका पहिचान पक्षका स्वतन्त्र उम्मेदवार थेगिम भन्छन्,‘मैले प्राप्त गरेको मत धेरै अर्थपूर्ण छ । पहिचानप्रति जनताले मलाई दिएको विश्वासको मतको रुपमा मैले लिएको छु ।’ उनले ११ हजार ४५७ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५०मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।

निर्वाचन कार्यालय, इलामका अनुसार इलाम-२ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६/६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा नम्वर १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।

प्रतिक्रिया