गाैमुल खबर डटकम बिहीबार २०, कार्तिक २०८३ ०८:५८

परदेशमा जन्मिएको ‘पहेली धानका बाला’ आफ्नै परिकल्पनाकारको आँगनमा गुञ्जियो, प्रकाश थापाको प्रस्तुतिमा झुमे दर्शक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक १९, २०८३
परदेशमा जन्मिएको ‘पहेली धानका बाला’ आफ्नै परिकल्पनाकारको आँगनमा गुञ्जियो, प्रकाश थापाको प्रस्तुतिमा झुमे दर्शक

बाजुरा ःनेपाली जनजिब्रोमा दसैँ-तिहारको उल्लाससँगै गुञ्जिने लोकप्रिय गीत ‘पहेली धानका बाला’ का परिकल्पनाकार अमर वि.क.कै आँगनमा उक्त गीतका गायक प्रकाश थापाले आफ्नो सांगीतिक प्रस्तुति दिएका छन्।

गौमुल गाउँपालिका-४ मा आयोजित दशैँ-दीपावली विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रमको अन्तिम दिन बुधबार गायक थापा सहितका कलाकारको प्रस्तुतिमा स्थानीय दर्शक झुमेका हुन्।

कार्यक्रममा सुदूरपश्चिमका लोकप्रिय लोक डेउडा गायक प्रकाश थापा, डेउडा गायक राजेन्द्र पश्चिमेली र स्थानीय कलाकार लक्ष्मी विकले आ-आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

कलाकारका प्रस्तुतिसँगै कार्यक्रममा सहभागी स्थानीयबासीले नाचगान गर्दै सांस्कृतिक उत्सवको भरपूर मनोरञ्जन लिएका थिए।

गायक प्रकाश थापाले सुरुमा ठाडी भाका मार्फत दर्शकलाई भावुक बनाए। ठाडी भाकाका मार्मिक प्रस्तुतिले दर्शकको मन छोएपछि उनले डेउडा भाका मार्फत उपस्थित दर्शकलाई नाच्न र रमाउन लालायित बनाए। लोकसंस्कृति, मौलिक भाका र सांगीतिक प्रस्तुतिको संगमले कार्यक्रमस्थल उत्सवमय बनेको थियो।

कार्यक्रमको विशेष आकर्षण भने ‘पहेली धानका बाला’ गीतको प्रस्तुति बन्यो। गीतका परिकल्पनाकार तथा गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर वि.क.प्रमुख अतिथि रहेको कार्यक्रममा गायक थापाले उनकै परिकल्पना र सिर्जनामा जन्मिएको उक्त लोकप्रिय गीत गुञ्जाउँदा माहोल थप रोमाञ्चक बनेको थियो।

समयको चक्र पनि कम रोचक छैन। कुनै समय परदेशको भूमिमा श्रम गर्दै गीतको परिकल्पना गरेका अमर अहिले आफ्नै गाउँका जनप्रतिनिधि छन्। उनकै नेतृत्वको वडामा आयोजित सांस्कृतिक उत्सवमा त्यहीँ सिर्जनालाई स्वर दिने गायक प्रकाश थापाले गीत गुञ्जाउँदा परिकल्पनाकार र गायकबीचको सांगीतिक सम्बन्धले नयाँ अर्थ पाएको छ।

एउटा सिर्जना परदेशमा जन्मियो, गायकको स्वरबाट देशभर फैलियो र अन्ततः त्यसका परिकल्पनाकारकै गाउँ-आँगनमा गुञ्जियो। गौमुल-४ को सांस्कृतिक उत्सवमा देखिएको यो संयोगले गीत, सिर्जना र सर्जकबीचको आत्मीय सम्बन्धलाई थप जीवन्त बनाएको छ।

कार्यक्रमले मनोरञ्जनसँगै स्थानीय मौलिक कला, संस्कृति, परम्परा र लोक भाकाको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया