गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८३ ०४:०५

देउवा पक्षको जिल्ला अधिवेशनका लागि मार्तडीमा शक्ति प्रदर्शनको तयारी, शीर्ष नेताहरु मार्तडीमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक १५, २०८३
देउवा पक्षको जिल्ला अधिवेशनका लागि मार्तडीमा शक्ति प्रदर्शनको तयारी, शीर्ष नेताहरु मार्तडीमा

बाजुरा ः नेपाली कांग्रेसको नियमित १५ औँ महाधिवेशन अन्तर्गत बाजुराको ८औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न पार्टीका शीर्ष नेतादेखि जिल्ला तहका नेता तथा कार्यकर्ताहरु सदरमुकाम मार्तडीमा केन्द्रित भएका छन्।

जिल्ला अधिवेशनको उद्घाटन भोली मार्तडीस्थित खुलामञ्चमा भव्य समारोहका बीच गरिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ।

अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख देवराज जोशी, केन्द्रीय सदस्य विद्या तिमिल्सेना, पूर्वपार्टी सभापति कविराज पण्डित, पूर्वसांसद महानेपाली, पार्टी उपसभापति नारायण पाध्याय लगायतका नेताहरु मार्तडी पुगिसकेका छन्।

जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई व्यवस्थित र भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको अधिवेशन संयोजक धनराज पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार अधिवेशनमा जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहनेछ।

नेपाली कांग्रेसभित्रको राजनीतिक ध्रुवीकरणका बीच हुन लागेको बाजुराको जिल्ला अधिवेशनलाई नेतृत्व चयन र आगामी महाधिवेशनका लागि राजनीतिक शक्ति सन्तुलनका दृष्टिले समेत महत्त्वपूर्ण रुपमा हेरिएको छ।

अधिवेशनले जिल्ला नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक गतिविधिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। मार्तडीमा नेताहरुको जमघट र कार्यकर्ताहरुको सक्रियताले जिल्ला अधिवेशनको राजनीतिक सरगर्मी बढाएको छ।

प्रतिक्रिया