बाजुरा ः बाजुराको बडीमालिका नगरपालिका-७ त्रिकुलेमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा पाँच वर्षीय बालक सहित तीन जना घाइते भएका छन्।
बुधबार (२०८३ कात्तिक १८ गते) साँझ करिब ५ः४० बजे मार्तडी-कोल्टी सडकखण्ड अन्तर्गत त्रिकुलेमा मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००८ प १९१९ नम्बरको मोटरसाइकल र जिल्लीबाट बाहुलीतर्फ आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक बडीमालिका नगरपालिका-७ जिल्ली निवासी ३२ वर्षीय तुलाराम जैशी घाइते भएका छन्। उनको दाहिने हात, अनुहार, टाउको र कम्मरमा चोट लागेको छ।
त्यस्तै, साइकलमा सवार बडीमालिका नगरपालिका-९ निवासी करिब १८ वर्षीय पुजन विक र पाँच वर्षीय विएन सुनार पनि घाइते भएका छन्।
पुजनको टाउको, निधार, बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने बालक विएनको टाउको, बायाँ कान, खुट्टा र बायाँ घुँडामा चोट लागेको छ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक वीरेन्द्र चन्दको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया