बाजुरा ः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गर्दै छिटो उदाएको शक्तिको पतन पनि छिट्टै हुने बताएका छन्।
उनले स्पष्ट राजनीतिक गन्तव्य, विचार र सिद्धान्तबिनै उदाएका शक्तिहरुको भविष्य लामो हुन नसक्ने टिप्पणी गरेका हुन्।
गौमुल गाउँपालिका-४ निलासैनमा नेकपा (एमाले) को पार्टी जागरण अभियान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता थापाले रास्वपा लक्षित अभिव्यक्ति दिएका हुन्।
उनले भने, “छिटो उदाएको शक्तिको पतन पनि छिटो नै हुन्छ। गन्तव्य नै नभएको शक्ति लामो समय टिक्न सक्दैन। राजनीति लोकप्रियताको लहरले मात्रै चल्दैन, त्यसका लागि स्पष्ट विचार, सिद्धान्त, नीति र देश बनाउने दूरदृष्टि आवश्यक पर्छ।”
थापाले नेपाली काँग्रेस र नेकपा (एमाले) ले संयुक्त रुपमा संविधान निर्माण गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढाएको उल्लेख गर्दै देश निर्माणको स्पष्ट दृष्टिकोण र नेतृत्व एमालेसँग रहेको दाबी गरे।
“हामीबाट केही कमजोरी भएका हुन सक्छन्, ती कमजोरीलाई स्वीकार गर्दै सुधार गर्नुपर्छ। तर राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको सवालमा एमाले सधैँ अग्रपङ्क्तिमा छ। यसमा कुनै दुईमत छैन,” उनले भने।
उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि ऐतिहासिक भूमिका निर्वाह गरेका राजनीतिक शक्तिहरुको योगदानलाई नजर अन्दाज गर्न नमिल्ने धारणा राखे।
लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा कुनै भूमिका नखेलेका शक्तिहरुले जनताको वास्तविक अपेक्षा र मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसके उनीहरुको राजनीतिक भविष्य लामो नहुने उनको तर्क थियो।
थापाले राजनीतिमा क्षणिक लोकप्रियता भन्दा विचार, संगठन, त्याग, संघर्ष र जनताप्रतिको जवाफदेहिता महत्त्वपूर्ण हुने बताए। जनताको विश्वास जित्न नारा भन्दा काम, प्रचार भन्दा परिणाम र लोकप्रियता भन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले एमालेको संगठनलाई थप सुदृढ, गतिशील र जनतासँग जोड्दै पार्टीका नीति, विचार तथा उपलब्धिबारे जनस्तरमा स्पष्ट पार्न कार्यकर्तालाई आग्रह समेत गरे।





प्रतिक्रिया