काठमाडौं : दसैं मनाएर घर फर्किने र यात्रा गर्नेहरूको योजनामा ‘अर्णव’ चक्रवातले बाधा पुर्याउने भएको छ। बंगालको खाडीमा विकसित भई शक्तिशाली बन्दै गएको यस चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा रहेको चक्रवात ‘अर्णव’ थप शक्तिशाली बन्दै गएको जानकारी दिएको छ।‘अर्णव’ चक्रवात यतिबेला उत्तरपश्चिम दिशातर्फ अगाडि बढिरहेको छ। यसको प्रभाव नेपालमा बुधबारदेखि सुरु हुनेछ।
विभागका अनुसार चक्रवातले मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा गराउने सम्भावना भएकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान सुझाव दिएको छ। भारी वर्षाले बाढी–पहिरोको सम्भावना पनि उत्तिकै रहेकाले यात्रा गर्नेहरूले पनि सचेत बन्नुपर्नेछ। ‘अर्णव’ चक्रवात ११ कात्तिकमा आन्ध्र प्रदेशको बापट्ला तट हुँदै विशाखापटनम र यानम नजिकैको तटीय क्षेत्रमा थप शक्तिशाली बन्दै जमिनमा प्रवेश गर्ने देखिएको छ।
जसका कारण हिमआँधी, हिमपात, हिमपहिरोको पनि जोखिम बढाएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार काठमाडौंमा पनि वर्षाको सम्भावना छ। साथै, दसैं अगाडिमात्रै आकस्मिक बाढीको जोखिममा परेको मनाङलाई अझ विशेष ध्यान दिनुपर्ने देखिएको छ।
पोखरेलका अनुसार मध्यपहाडी क्षेत्रमा शुक्रबार ११० देखि १४५ मिलिमिटरसम्म वर्षा हुने देखिन्छ। बिहीबारदेखि लगातार वर्षा हुँदा लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका केही जिल्लामा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। अहिलेसमको अवस्थामा तीनवटा प्रणाली विकसित भइरहेको देखिन्छ। दक्षिण भारतमा न्यूनचापीय प्रणाली रहेको छ।
त्यसैगरी, बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गर्दा नेपालमा भारी वर्षाको सम्भावना यथावत् छ। उनले भने, ‘सबै मौसमी मोडलहरू हेर्दा आन्ध्र प्रदेश हुँदै नेपाल आउने देखिन्छ। १२ गते बिहीबार रातिदेखि पानी पर्न सुरु हुन्छ। तर, मौसममा फेरबदल भने बुधबारदेखि नै देखिन सक्छ।’
नेपालमा भारी वर्षा गराउन न्यूनचापीय प्रणाली, वायुमण्डलको न्यूनचापीय रेखासँगको अन्तरक्रिया तथा आद्र्रता पनि धेरै आउने देखिन्छ। नेपालको भौगोलिक अवस्थाका कारण पनि ठूलो वर्षा हुने सम्भावना रहेको पोखरेलले बताए। सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा भारी वर्षा हुने देखिएको पनि जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पनि बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनिरहेका कारण भारी वर्षाको सम्भावना रहेको जनाए। उनले भने, ‘यो बिस्तारै बलियो हुँदै चक्रवातमा परिणत भएको छ। नेपालमा कोशी, बागमती र गण्डकी प्रदेशमा सुरुमा यसको प्रभाव देखिनेछ।’
यतिबेला न्यूनचापीय प्रणाली बिस्तारै बलियो बन्दै तटीय क्षेत्रमा पुग्ने र १२ गतेदेखि बढी प्रभाव देखिए पनि बिहीबार, शुक्रबार र शनिबारसम्मै भारी वर्षाको सम्भावना देखिन्छ।
मौसम मोडल तथा उपग्रहका तस्बिरहरू हेर्दा बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको र उक्त न्यूनचापीय क्षेत्र बलियो बन्दै सोमबार चक्रवात आँधीमा परिणत भएको छ। त्यसपछि उत्तरपश्चिम दिशातर्फ सर्ने र उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने देखिन्छ।
मौसमविद्हरूले यसपटक विशेषगरी धान भित्र्याउने बेला भएकाले किसानहरूलाई मौसमसम्बन्धी जानकारी दिएको बताएका छन्। पानी पर्न सुरु हुनुभन्दा पहिला नै धान भित्र्याउन सुझाएका छन्। त्यसैगरी विभिन्न जिल्लामा भारी वर्षाको कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्दा सचेत हुन सुझाएका छन्। हिमाली जिल्लामा हिमपात हुने सम्भावना भएकाले हिमाल आरोहण नगर्न पनि सुझाएका छन्। तर, मौसम शीघ्र फेरबदल भइरहने भएकाले अद्यावधिक गर्दै जाने पनि बताएका छन्।
‘अर्णव’ अत्यधिक घातक, लाखौं सुरक्षित स्थानमा सारिँदै
संसारभरिसको मौसम पूर्वानुमानसम्बन्धी काम गर्दै आएको अमेरिकी संस्था ‘एक्युवेदर’ मा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान प्रमुखका रूपमा कार्यरत जेसन निकोल्सका अनुसार ‘अर्णव’ चक्रवात अत्यधिक घातक बन्न सक्ने जनाएका छन्। बुधबार आन्ध्र प्रदेशको बापट्ला र विशाखापटनम बन्दरगाहमा पुग्नुअगाडि नै निकै घातक बन्ने जनाएका छन्। आन्ध्र प्रदेशदेखि नै उत्तर प्रदेशको पूर्वभागसम्म अत्यधिक भारी वर्षा गराउनेछ। ‘अर्णव’ चक्रवातले नेपालमा पनि भारी वर्षा गराउने निकोल्सले जनाएका छन्।
भारतको आन्ध्र प्रदेश तथा ओडिशामा चक्रवातको कारण हुन सक्ने जोखिमको बारेमा पहिले नै मौसम विभागले तयारी रहन चेतावनी दिइसकेको छ। त्यसैले त्यहाँका राष्ट्रिय संकट व्यवस्थापन समितिले पूर्वतयारीको लागि काम गरिरहेको जनाएको छ। भारतको तेलंगाना, दक्षिण ओडिशा, मध्य छत्तीसगढ, उत्तर प्रदेश र बिहारमा पनि प्रभाव रहने मौसम विभागहरूले जनाएका छन्।
आन्ध्र प्रदेशमा विपद् व्यवस्थापन कार्यालयका अनुसार ५ लाख ७० हजार मानिस जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा लैजान सुरु भएको जनाएको छ। ओडिशामा पनि विद्यालय तथा कलेजहरू बन्द गरिने भएको छ। अत्यधिक तीव्र अर्थात् प्रतिघण्टा ११५ देखि १४० किलोमिटर गतिमा आँधी आउने भएकाले तटीय क्षेत्रमा बाढीको सम्भावना अत्यधिक रहेको पनि जनाएको छ।





प्रतिक्रिया