बाजुरा ः बाजुरामा शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन हुने भएको छ।
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC), बनेपा र सिद्धार्थ बैंकको आयोजनामा आगामी २०८३ कात्तिक १५ गते आइतबार जिल्ला अस्पताल मार्तडी, बाजुरामा शिविर सञ्चालन हुने भएको हो।
शिविर मार्फत जिल्लाका शारीरिक अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परीक्षण, अपाङ्गताको पहिचान तथा पुनर्स्थापना सम्बन्धी आवश्यक परामर्श र सेवाका लागि सहजीकरण गरिने आयोजकले जनाएको छ।
विशेषगरी जन्मजात वा पछि खुट्टा बाङ्गो हुने, अगाडितिर झुकेको वा असामान्य रूपमा बाङ्गिएको खुट्टा, घुँडा तथा कुहिनोमा समस्या, हड्डी भाँचिएपछि लामो समयसम्म दुख्ने वा सुन्निने, हातखुट्टा बाङ्गो हुने, डाढ वा कुब्जोपन देखिने तथा जोर्नी सम्बन्धी समस्या भएका बालबालिकालाई शिविरमा जाँच गराउन आग्रह गरिएको छ।
त्यस्तै, ओठ तथा तालु फाटेका र कृत्रिम अङ्ग वा अर्थोपेडिक सहायक सामग्री आवश्यक पर्ने बालबालिकाले पनि शिविरबाट लाभ लिन सक्ने जनाइएको छ।
शिविर कात्तिक १५ गते बिहान ९ बजेदेखि जिल्ला अस्पताल मार्तडीमा सञ्चालन हुनेछ। अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान, उचित उपचार तथा पुनर्स्थापनामा पहुँच बढाउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।
शिविरमा सहभागी गराउनुपर्ने बालबालिकाका अभिभावक तथा परिवारलाई निर्धारित मिति र समयमा जिल्ला अस्पतालमा उपस्थित गराउन आयोजकले आग्रह गरेको छ।
शिविर सञ्चालनका लागि गाैमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले समन्वय तथा सहकार्य गर्ने जनाइएको छ।





प्रतिक्रिया