बाजुरा ःप्रकृति संरक्षणको सन्देश सहित बाजुरामा जारी बडीमालिका कप-२०८३ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जाल्पादेवी र त्रिवेणी आमनेसामने हुने भएका छन्। राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीले भरिएका दुवै टोली फाइनलमा पुगेपछि प्रतियोगिताको उपाधि भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
सेमिफाइनलमा त्रिवेणीले नेपाल प्रहरीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो भने जाल्पादेवीले आयोजक टोलीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। सेमिफाइनलका खेल हेर्न हजारौँ दर्शक सहभागी भएका थिए। फाइनलमा पनि ठूलो संख्यामा दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।
बडीमालिका नगरपालिका-८, मार्तडीस्थित खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते दिउँसो १ बजे हुने आयोजक बडीमालिका नेचर प्रालिका कार्यकारी निर्देशक गणेश थापाले जानकारी दिए। प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ९९ हजार ९ सय ९९ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक १० गते समापन हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। बडीमालिका नेचर प्रालिका अध्यक्ष कृष्ण ओलीका अनुसार खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवर्द्धन र स्थानीय सम्भावनाको उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा एक्सटिमले पनि सहकार्य गरेको छ। ‘प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा’ भन्ने मूल नारा सहित आयोजना गरिएको बडीमालिका कपलाई आयोजकले दीर्घकालीन अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिँदै राष्ट्रियस्तरमा प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष ओलीले बताए।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले प्रतियोगिताको उद्घाटन गरेका थिए। हिमाली तथा पर्वतीय क्षेत्रको पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्ने लक्ष्य प्रतियोगिताले लिएको छ।
खेलकुदमार्फत प्रकृतिको महत्व बुझाउने, युवालाई संरक्षण अभियानमा जोड्ने र बाजुराको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने आयोजकको अपेक्षा छ। अब बडीमालिका कपको उपाधिका लागि मैदानमा उत्रिने जाल्पादेवी र त्रिवेणीबीचको प्रतिस्पर्धाले खेलप्रेमीलाई रोमाञ्चित बनाउने मात्र होइन, बाजुरामा खेलकुद र पर्यटनको सम्भावनालाई समेत उजागर गर्ने विश्वास गरिएको छ।






प्रतिक्रिया