बाजुरा ः जिल्ला अस्पताल बाजुरामा स्वीकृत दरबन्दी अनुसार आवश्यक जनशक्ति नहुँदा उपलब्ध जनशक्तिबाटै ठूलो संख्यामा बिरामीलाई स्वास्थ्य सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।
१५ शैयाको जिल्ला अस्पतालमा १८ जनाको दरबन्दी रहेकोमा हाल ९ जना मात्रै कार्यरत रहेको अस्पतालको तथ्यांक छ। कार्यरत जनशक्ति मध्ये केहीको जिम्मेवारी तथा सेवा आवश्यकताका कारण दैनिक बिरामीको चाप व्यवस्थापनमा थप दबाब पर्ने गरेको अस्पतालको भनाइ छ।
अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। सीमित स्थायी जनशक्तिबाट यति ठूलो संख्यामा बिरामीलाई सेवा दिनुपर्ने अवस्थाले अस्पतालको सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेको देखिन्छ।
अस्पतालका सूचना अधिकारी नृप गिरीका अनुसार स्थायी दरबन्दी बाहेक ८९ जना करार कर्मचारी कार्यरत छन्। करार कर्मचारी मार्फत सेवा सञ्चालनमा सहयोग पुगे पनि अस्पतालको आवश्यकता अनुसार जनशक्ति तथा स्वास्थ्य उपकरणको थप व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.हरिशबहादुर मल्लले बिरामीको चाप र अस्पतालको सेवा आवश्यकतालाई ध्यानमा राख्दै आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था गर्नुपर्ने बताएका छन्।
उनका अनुसार उपलब्ध स्रोत साधनबाट सेवा प्रवाह भइरहेको भएपनि अस्पतालको क्षमता, जनशक्ति र सेवाग्राहीको चापबीच उचित सन्तुलन कायम गर्न थप व्यवस्थापन आवश्यक छ।
पछिल्लो समय जिल्ला अस्पताल बाजुराको सेवा प्रवाह र व्यवस्थापनलाई लिएर विभिन्न चर्चा तथा विवाद सार्वजनिक भइरहेका बेला अस्पतालको अवस्थालाई एउटा पक्षको भनाइ वा आरोपका आधारमा मात्रै मूल्यांकन गर्नु भन्दा उपलब्ध तथ्य र समग्र सेवा अवस्थालाई हेर्नुपर्ने देखिन्छ।
अस्पतालको स्थायी दरबन्दी, करार कर्मचारी, दैनिक बिरामीको संख्या, उपलब्ध चिकित्सक तथा स्वास्थ्यकर्मी, उपकरण र भौतिक पूर्वाधारलाई समग्र रूपमा हेर्दा सेवा प्रवाहमा देखिएका चुनौती पहिचान गर्न सहज हुने देखिन्छ।
स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले विवाद भन्दा माथि उठेर आवश्यक जनशक्ति, उपकरण र सेवा व्यवस्थापन सुधारमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ।
स्थानीय नागरिकका लागि जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने प्रमुख आधारका रुपमा रहेको जिल्ला अस्पतालको सेवा थप प्रभावकारी बनाउन दरबन्दी अनुसार जनशक्ति पूर्ति, आवश्यक उपकरणको उपलब्धता तथा कार्यरत जनशक्तिको उचित व्यवस्थापन महत्वपूर्ण हुने देखिन्छ।





प्रतिक्रिया