बाजुरा ःनेपाल कम्युनिस्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई विरोध पत्र बुझाएको छ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ भदौ २३ र २४ गते भएका घटना सम्बन्धी गरेका निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै पार्टीले देशव्यापी विरोध कार्यक्रमअन्तर्गत ज्ञापनपत्र पेश गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाजुराले बुझाएको उक्त पत्रमा देशका विभिन्न स्थानमा भएका हिंसा तथा तोडफोडका घटनाबाट भएको मानवीय र भौतिक क्षतिको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
साथै, घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिइएको छ। पार्टीले विशेषगरी आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई चैत १४ गते गरिएको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ।
उक्त गिरफ्तारीलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र गैरकानुनी भन्दै तत्काल रिहाइको माग गरिएको छ। यसैगरी, कार्की आयोगले प्रस्तुत गरेको प्रतिवेदनप्रति पनि एमाले बाजुराले असहमति जनाएको छ।
प्रतिवेदन निष्पक्ष नभएको दाबी गर्दै पार्टीले लोकतान्त्रिक मूल्य र कानुनी शासन विपरीत हुने कुनै पनि गतिविधि अस्वीकार्य हुने स्पष्ट पारेको छ।
एमाले बाजुराले भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीद्वारा हस्ताक्षरित उक्त पत्रमा न्यायिक प्रक्रिया पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।






प्रतिक्रिया