बाजुरा ः बैतडीकाे पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दमाथि पछिल्ला दिनमा साइबर आक्रमण तीव्र बनेका छन्। “पञ्चेश्वर भ्रष्टाचार विरुद्ध” नामक फेसबुक पेजमार्फत लामो समयदेखि अध्यक्ष चन्द र उनका परिवारलाई लक्षित गर्दै भ्रामक, मिथ्या र कपोकल्पित सूचनाहरू प्रचार गर्दै अश्लील शब्द प्रयोग गरी चरित्र हत्या प्रयास भइरहेको अध्यक्ष चन्दले बताएका छन् ।
प्रहरी स्रोतका अनुसार ती गतिविधिहरूमा संलग्न व्यक्ति पञ्चेश्वर गाउँपालिका-४ अनमखेत निवासी प्रकाश चन्द हुन्, जो हाल भारतमा लुकेर बसेका छन् । उनी नेपाल प्रहरीको फरार सूचीमा परेका छन् र इन्टरपोल नोटिस जारी गर्ने तयारी भइरहेको बताइएको छ ।
फरार प्रकाश चन्दको पृष्ठभूमि
जिल्ला अदालत बैतडीले जातीय विभेदसम्बन्धी मुद्दामा प्रकाश चन्दलाई चार महिनाको कैद सजाय तोकेको थियो । अदालतको फैसला कार्यान्वयन हुनु अघि नै उनी फरार भएका थिए ।
स्थानीयका अनुसार २०५४ सालमा एसएलसी पास गरी महेन्द्रनगर पुगेका प्रकाशले त्यहाँ एक व्यवसायीको घरमा डेरा गरी बस्दै गर्दा सोही घरकी कान्छी श्रीमती (नाम परिवर्तनः केशरी) सँग सम्बन्ध राखे ।
घटनाको जानकारी घरधनी र जेठी श्रीमतीलाई भएपछि उनीहरू महेन्द्रनगरबाट हराए । त्यसपछि प्रकाशले कञ्चनपुर जिल्लामा “प्रकाश धामी” नामको नक्कली नागरिकता बनाएर केही वर्ष भूमिगत रूपमा बाँगफाटामा बसोबास गरेका थिए ।
रक्सीको लत र आर्थिक संकटमा परेपछि उनले सम्पत्ति बेचेर भारत प्रवेश गरेको बताइन्छ । हाल उनी भारतको गुडगाँवस्थित बजाज कम्पनीमा टुल टेक्निसियनको रूपमा कार्यरत छन् । तर, सामाजिक सञ्जालमा आफूलाई “सफ्टवेयर इन्जिनियर” भनेर परिचय गराउँछन् ।
फेक आइडी मार्फत भ्रम फैलाउने क्रम
प्रकाशले विभिन्न फेक फेसबुक आइडीहरू प्रयोग गरी पञ्चेश्वर गाउँपालिका र त्यहाँका जनप्रतिनिधिहरूमाथि नियमित रूपमा गालीगलौज र भ्रमपूर्ण सामग्री पोस्ट गर्दै आएका छन् ।
१२ कक्षा पनि पास नगरेका उनले सामाजिक सञ्जालमा गलत परिचयका साथ जनप्रतिनिधिमाथि निरन्तर अपमानजनक अभिव्यक्ति दिइरहेको बताइन्छ ।
स्थानीय नेताहरूले यस्तो साइबर अपराधका विरुद्ध कानूनी प्रक्रिया अघि बढाउन माग गरेका छन् । प्रहरी स्रोतका अनुसार, उनीविरुद्ध इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय पक्राउ प्रक्रिया सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।





प्रतिक्रिया