गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:११

अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपाली मूलका नागरिक मतदान गर्दै

प्रवास
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक २१, २०८१
अमेरिकी राष्ट्रपति चुनावमा १ लाख नेपाली मूलका नागरिक मतदान गर्दै

अमेरिका : ‘आफ्नो राष्ट्रपति चुन्नका लागि म लाइनमा बसेको छु, केहीबेरमा मतदान गर्छु,’ यो भनाइ हो ६२ वर्षका अमेरिकी नागरिक जोन विलियमको। आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपति छान्न अमेरिकी नागरिकहरू यतिबेला भोटिङको लाइनमा बसेका छन्।  

संविधानतः अर्लि भोटिङ अर्थात् अन्तिम दिन नकुरी भोट गर्न पाउने व्यवस्था भएकाले धेरैजसो नागरिकले मतदान गरिसकेका छन्। तर, नोभेम्बर ५ अर्थात् मंगलबार मतदान गर्ने अन्तिम दिन हो। यसले भावी अमेरिकी राष्ट्रपतिको निर्धारण गर्ने छ।

यसो त अमेरिकाले आफ्नो देशको राष्ट्रपति चुन्दै छ, तर शक्तिराष्ट्र भएकाले नेपाललगायत विश्वभरको ध्यान यतिबेला अमेरिकामा छ। अमेरिकाले बनाउने आर्थिक तथा रणनैतिक योजनाहरूको प्रभाव विश्वभर पर्ने भएकाले अमेरिकी राष्ट्रपति निर्वाचनको चासो हुने गरेको हो।

महाशक्तिराष्ट्र भएकाले अमेरिकी राष्ट्रपतिलाई विश्व समुदायले समेत अभिभावक मान्ने गरेको पाइन्छ। यसरी भनौं अमेरिकी राष्ट्रपति यो मुलुकको मात्रै राष्ट्रपति होइन्न। यो समाचार तयार पार्दासम्म ८२ करोडभन्दा बढी अमेरिकी नागरिकले राष्ट्रपति छान्न मतदान गरिसकेका छन्।

राष्ट्रपतिका लागि मैदानमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस। यसो त भावी राष्ट्रपति छान्नका लागि मतदान स्थलमा जाँदै गरेका तथा जाने तयारीमा रहेका अमेरिकी नागरिकले कसलाई मतदान गर्ने भनेर निर्णय गरिसकेका छन्।

स्थानीय समयअनुसार मंगलबार साँझसम्म भावी राष्ट्रपति को हुनेछ भन्ने अनुमान भइसक्ने छ। यद्यपि अमेरिकामा राष्ट्रपतिको उम्मेदवारी लगत्तै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रत्यक्ष बहस सुरु भएपछि नै अमेरिकी नागरिकले कसलाई मतदान भन्नेबारे सोच बनाइ सकेका हुन्छन्।

हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सर्वेक्षणहरूले दुवै उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा भइरहेको देखाइरहेका छन्। पूर्वराष्ट्रपति समर्थक या भनौं रिपब्लिकन पार्टी समर्थक सञ्चार माध्यमले ट्रम्पले चुनाव जित्ने देखाइरहेका छन्, भने अर्कोतर्फ उपराष्ट्रपति ह्यारिस समर्थक, डेमोक्र्याटिक पार्टी समर्थकहरूले ह्यारिसले चुनाव जित्ने देखाइ रहेका छन्।

अघिल्ला चुनावहरूमा आएको सर्वेक्षणहरूलाई आधार मानेर यसपटक गरिएका सर्वेक्षणहरू हेर्ने हो भने आगामी राष्ट्रपति को हुनेछ भन्ने यसै भन्न सकिने अवस्था छैन। सन् २०१६ मा आएको सर्वेक्षणले हिलारी क्लिनटनलाई जित्ने देखाएको थियो, तर उनले चुनाव जितिनन्।

मध्यमवर्गीय, अश्वेत, आप्रवासी, महिला तथा उदारवादीहरूको मत कमला ह्यारिसलाई जाने अनुमान गरिएको छ। यस्तै कट्टरपन्थी, पुरातनपन्थी, श्वेत अमेरिकनहरूको मत पूर्वराष्ट्रपति ट्रम्पलाई जाने अनुमान भइरहेका छन्। यस्तै अधिकांश पूर्वराष्ट्रपतिहरूको समर्थनसमेत ह्यारिसलाई छ।

अमेरिकामा रजिष्टर भोटरहरू कटिबद्ध मतदाता मानिन्छन् भने अमेरिकी निर्वाचनको निक्र्योल स्विङ राज्य अर्थात् परिवर्तनशील नागरिक बस्ने राज्यले नै निर्णय गर्ने गरेको छ। जुन राज्यमा डेमोक्र्याट र रिपब्लिकन पार्टी समर्थकको स्थिर बहुमत हुँदैन्, ति राज्यहरू स्विङ राज्य हुन्।

हालसम्मको राष्ट्रपतीय नतिजालाई हेर्दा त्यस्ता राज्यहरू नै निर्णायक हुने गरेका छन्। राष्ट्रपतिका उम्मेदवारहरूले यिनै स्विङ राज्यमा आफ्नो चुनावका बखत बढ्ता सभा समारोहहरू गरिरहेको पाइन्छ।

अमेरिकामा स्विङ राज्य भन्नाले फलोरिडा, पेन्सलभेनिया, ओहायो, मिसिगन, विस्सकन्सिन, एरिजोना, जर्जिया र नर्थ क्यारोलिनालाई चिनिन्छ। यसपटक भर्जिनिया राज्यलाई निर्णायक राज्य मानिएको छ। यि उल्लेख भएका स्विङ राज्यबाट ९३ इलेक्टोरल छानिनेछन्। 

कति अमेरिकन नेपाली सहभागी हुँदै छन् ?   

यसपटक झन्डै १ लाख नेपाली मूलका अमेरिकन नागरिकहरू मतदानमा सहभागी हुँदैछन्। यसमध्ये ३० हजार नेपाली अमेरिकनहरू पहिलोपटक मतदानमा सहभागी हुँदै छन्।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार ८७ हजार नेपालीले अमेरिकामा अंगिकृत नागरिकता प्राप्त गरेका छन्। बाँकी अमेरिकामै जन्मिएका दोस्रो पुस्ताका नेपाली मुलुका हुन्। 

मंगलबार अमेरिकी नागरिकले आफ्नो भावी राष्ट्रपति मात्रै निर्वाचित गर्दै छैनन्, उनीहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ, माथिल्लो सदन सिनेटका लागि समेत ३३ जना नयाँ सदस्य चयन गर्दै छन्। 

अमेरिकामा कुल ५ सय ३८ इलेक्टोर हुन्छन्। त्यो भनेको राष्ट्रपतिका उम्मेदवारले कम्तीमा २ सय ७० मत पाउनुपर्ने हुन्छ। आज हुने अन्तिम निर्वाचनमार्फत अमेरिकले पहिलो महिला राष्ट्रपति पाउँछ, या पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन्छन्, त्यो भने केही दिन कुर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया