गाैमुल खबर डटकम आइतबार ०४, असोज २०८३ ०१:१४

राजपुरा पछाईंले जितिन् महिला हाफ म्याराथन

गाैमुल खबर गाैमुल खबर
आइतबार, असार ०९, २०८१
राजपुरा पछाईंले जितिन् महिला हाफ म्याराथन

काठमाडौँ : नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले दोस्रो राष्ट्रिय खुला महिला हाफ म्याराथन दौडको उपाधि जितेकी छन् । सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा भएको दौडको निर्धारित २१ किलोमिटर दुरी राजपुराले एक १ घण्टा १९ मिनेटमा पूरा गरिन् । 

सशस्त्रको मुख्यालय हल्चोकबाट सुरु भएको हाफ म्याराथन बालाजु चोक, नयॉ बसपार्क, बसुन्धारा, महाराजगन्ज, त्रिवि शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, सहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः एपीएफ रंगशाला पुगेर सकिएको थियो ।

विजेता राजपुराले एक लाख पुरस्कार पाइन् । उनले कान्तिपुर हाफ म्याराथन, आर्मी हाफ म्याराथनलगायत थुप्रै प्रतियोगितामा सफलता पाएकी छन् ।

नेपाल पुलिसकी राममाया बूढा दोस्रो हुँदा एक घण्टा २३ मिनेट १० सेकेन्डको टाइमिङ लिइन् । उनले ७५ हजार रुपैयँ पाइन् । एपीएफ क्लबकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो भइन् । उनले ५० हजार रुपैयाँसहित पुरस्कार पाइन् ।

एपीएफकी आशा रावत चौथो, आर्मीकी सिर्जना पाण्डे पँचौं र सोलुखुम्बुकी सुसन कार्की छैटौं भएका थिए । आर्मीका बबिता राई, मनु थापा, लक्षिमा डाँगी र सपनाकुमारी मगरले शीर्ष १० भित्र दौड पूरा गरेका थिए । शीर्ष १० मा रहेका खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । दौडमा डेढ सय धाविकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया