गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

बाजुराको विकासमा (एमाले) पहिलो प्राथमिकता दिन्छ : अध्यक्ष ओली

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ १०, २०८१
बाजुराको विकासमा (एमाले) पहिलो प्राथमिकता दिन्छ : अध्यक्ष ओली

बाजुरा : नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले बाजुराको विकासमा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् । समृद्धि र सुशासनको यात्रा एकल प्रयासले मात्रै संभव नहुने भन्दै ओलीले सबै राजनीतिक दलहरुले आस्था र आग्रह विना एकै ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् ।

अध्यक्षमा निर्वाचित भइसकेपछि प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले सबैले उदेश्य नै समृद्धि नेपाल, सुखी नेपाली हुनु पर्ने र त्यसका लागि राजनीतिक दल, दलका नेता र सामाजिक सेवामा जोडिएकाजति सबै बीचको सहकार्यमा जोड दिएका छन् । पत्रकार भेटघाट कार्यक्रम एमाले पार्टी कार्यालय मार्तडीमा आयोजना गरिएको हो ।

ओलीले निर्वाचनको परिणाम सबैले सहज स्वीकारेर अब मिसन ८४ केन्द्रीत हुन आग्रह गरेका छन् । सत्ता र पदमा भएको बेला मात्रै काम गर्ने मानसिकता त्यागेर सत्ता बाहिर भएर पनि धेरै काम गर्न सकिन्छ भन्ने कुराको प्रमाणित गर्न आफ्नो नेतृत्वको जिल्ला कमिटी प्रतिवद्ध रहेको बताएका छन् । 

हामी पद र सत्तालाई मात्रै ध्यान दिन्छौं, तर प्रतिपक्षमा हुँदा, पद र सत्ता बाहिर रहँदा पनि धेरै कुरा गर्न सकिन्छ, त्यो प्रमाणित गर्न केन्द्रीत रहने बताएका छन् । पार्टीले अघि सारेका नीति र विचार सिद्धान्तलाई स्थापित गर्नु नै पार्टी कमिटीका सदस्यहरुको प्रमुख जिम्मेवारी भएकोले सबै जना त्यसैमा प्रतिवद्ध र जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

पार्टीको अन्तर संघर्षलाई इगो र प्रतिसोधको भावनासँग जोड्न नमिल्ने भन्दै ओलीले अब सिंगो एमालेको अध्यक्षको व्यवाहार र कामले प्रमाणित गर्न तयार रहेको बताएका छन् । बाजुराको विकास र सुशासन पहिलो एजेण्डा हो, सबै दलबीचको सहकार्य प्रमुख चाहना हो, यही भावको सहकार्य सहीत अघि बढ्ने बताएका छन् ।

जेष्ठ भित्र सबै पालिका अधिवेशन सकाएर बार्षिक योजना सहीत कमिटीलाई चलायमान बनाउने, केन्द्र, प्रदेश र जिल्लाका सबै नेताहरुलाई गाउँ र जनतासँग जोडिराख्ने योजना सहीत कुनै पनि कमिटी सदस्यले बाहना गरेर काम र जिम्मेवारी बाहिर रहने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

युग, प्रविधी, जनचाहना र समाजको आवश्यकतालाई ध्यानमा राखेर पार्टी कमिटी चलायमान हुने दाबी गरेका ओलीले जितिसकेपछिको झरफर पछि विस्तारै सेलाउने शैली माथिको जिज्ञासा प्रति कटाक्ष गर्दै कार्यकालको अन्तिम दिनसम्म पनि यही उर्जा र उत्साहलाई कम हुन नदिने गरि काम गर्ने बताएका छन् । 

पार्टीका २३ वटै जनसंगठनलाई सक्रिय बनाउनु पर्नेछ । प्रविधी र सामाजिक सञ्जाल प्रयोगमा पार्टी नेता कार्यकर्तालाई ज्ञान सीप र क्षमता विकासमा जोड दिनु पर्नेछ, त्यो पनि पार्टीको योजना भित्र समेटिने बताएका छन् । ओलीले कुनै बाहना देखाएर काम प्रति गैर जिम्मेवार र पार्टी प्रति धोका दिनेहरु एमालेको कुनैपनि कमिटीको नेता हुनै नसक्ने बताएका छन् ।

प्रतिक्रिया