बाजुरा : नेकपा एमाले बाजुराले जेष्ठ मसान्त भित्र पालिका अधिवेशन सकाउने गरी योजना अघि सारेको छ । पार्टीको आठौं जिल्ला अधिवेशन पछिको पहिलो बैठकले जेष्ठ भित्र नौ वटै स्थानीय तहका पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सचिव काँशी विकले जानकारी दिएका छन् ।
अधिवेशन पछिको एमालेको रणनीति र आगामी योजना बारे जानकारी लिन प्रेस चौतारी नेपाल बाजुराले गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव काँशी विकले पहिलो बैठकको निर्णय सार्वजनिक गरेका हुन् । पत्रकार भेटघाट कार्यक्रम पार्टी कार्यालयमा आयोजना गरिएको हो ।
बाजुराको विकास र सुशासनका लागि राजनीतिक दलहरु बीच सहकार्य अघि बढाउने, विकासमा साझा मत बनाउने, रोजगारी सिर्जनाका लागि स्थानीय उत्पादनलाई जोड दिने निर्णय गरेको छ । अर्थतन्त्रको हालको अवस्था सुधार र राजनीतिक स्थायीत्वका लागि वर्तमान सत्ता समिकरणको निरन्तरतामा जोड दिने निर्णय गरेको छ ।
अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रमित विकले गरेका हुन् । नवनिर्वाचित कमिटीका पदाधिकारी र उपलब्ध सदस्यहरुलाई प्रेस चौतारीका तर्फबाट बधाई ज्ञापन गरिएको छ । सफल कार्यक्रमको शुभकामना सहित खादा माला सहीत बधाई ज्ञापन गरिएको सचिव रमित विकले जानकारी दिएका छन् ।
कार्यक्रममा अध्यक्ष लालबहादुर ओली, प्रदेश कमिटी सदस्य गगन रावल, सचिव काँशी विक, जिल्ला कमिटी सदस्य मन्देवी ओली, सीता थापा, धनलक्ष्मी जैशी, अमर विक, नरेन्द्र थापा, हिरा रोकाया, शंकर चदारा, सरिता नेपाली सहित सहभागी बनेका थिए । जिल्ला कमिटी सदस्य सरिता नेपाली प्रेस चौतारीकै सदस्य पनि हुन् ।





प्रतिक्रिया