गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४३
Dho

इलाम र बझाङमा आज उपनिर्वाचन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १५, २०८१
इलाम र बझाङमा आज उपनिर्वाचन

इलाम/बझाङ : इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले अपिल गरेको छ । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन् ।

यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।

वैशाख १५ गते इलाम जिल्लाभर सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ । सबै केन्द्रमा निर्वाचनको व्यवस्थापन महिला कर्मचारीले गर्ने भएका छन् ।

त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा पनि आज चुनाव हुँदैछ । ९३ मतदान केन्द्रका लागि ४ सय ६५ कर्मचारी परिचालन गरिएका छन् ।

सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगिसकेका र मतदानका तयारीमा सकिएको छ । वैशाख १३ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू मतदान केन्द्र पुगिसकेका थिए ।

निर्वाचन क्षेत्रभरि १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

७४ मतदानस्थलमा रहेका ९३ मतदान केन्द्रमा ३१ हजार ५ सय ४९ पुरुष र ३० हजार १ सय ९९ महिला गरी कुल ६१ हजार ७ सय ४८ मतदाताले मतदान गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने बताए ।

  • बझाङमा ठूला साना दलका गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । 
  •     इलाममा १ लाख १५ हजार ८ सय ७९ मतदाता
  •     बझाङमा ६१ हजार ७ सय ४८ मतदाता

२ हजार ३ सय प्रहरी खटिँदै 

इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को (१) मा हुन लागेको प्रदेशसभा निर्वाचनमा २ हजार ३ सय ८७ प्रहरी परिचालन हुँदैछन् । शनिबार हुने उपनिर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार दुवै जिल्लाका ४२ मतदान स्थललाई अति संवेदनशील स्थलका रूपमा राखिएका छन् । दुइटा जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५३ मतदानस्थल छन् ।

जसमध्ये ४५ मतदानस्थललाई संवेदनशील स्थलका रूपमा राखिएका छन् । प्रहरीले उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलन गरेर प्रहरीले उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको जनाएको हो । प्रहरीका अनुसार निर्वाचनपूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचनपछिको सुरक्षालाई अलगअलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था लागू गरिएको छ ।

प्रतिक्रिया