गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०५:०७

एमाले बाजुराको जिल्ला अधिवेशन आगामी ज्येष्ठ १ गते हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २१, २०८०
एमाले बाजुराको जिल्ला अधिवेशन आगामी ज्येष्ठ १ गते हुने

बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको अधिवेशन आगामी ज्येष्ठ १ गते मार्तडीमा हुने भएको छ । आज बसेको जिल्ला कमिटीको बैठकले आठौं जिल्ला अधिवेशन जेठमा गर्ने निर्णय गरिएको सचिव काँशी विकले बताउनुभएको छ ।

पार्टीको आठौं जिल्ला अधिवेशन हार्दिकता, उच्च एकता र सांगठनिक शुद्धीकरणको अर्जुन दृष्टिका साथ आगामी जेष्ठ १, २ र ३ गते गर्ने अध्यक्ष भरत थापाले बताउनुभएको छ ।

यस अघि २ पटक मिति तोक्दा पनि अधिवेशन हुन नसकेपछि तेस्रो पटकका लागि अर्को मिति तोक्ने गरी आजको बैठक केन्द्रीत बनेको हो । पहिलो मिति पौष २६, २७ र २८ गते कोल्टीमा अधिवेशन गर्ने गरेर तोकिएको थियो । दोस्रो मिति चैत्र १६ र १७ गते मार्तडीमा गर्ने गरी तोकिएको थियो ।

पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि पदाधिकारी मध्येबाट सचिवलाई संयोजक बनाउने कि पहिलेकै अध्यक्षबाट अधिवेशन गर्ने भन्नेमा सुरुदेखि विवाद भएको थियो । सुरुमा पहिलेकै कमिटीले अधिवेशन गर्ने निर्णय गरिएको थियो ।

पछि त्यो विधान विपरित भन्दै संगठन विभागमा उजुरी परेको थियो । उजुरी पछि प्रदेश कमिटीले पुरानै कमिटीको अध्यक्षतामा बैठक बसेर नयाँ व्यक्तिलाई जिम्मेवारी दिएर अधिवेशन गर्न पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा जिल्ला कमिटीको बैठक बसेर सचिव भरत थापालाई अध्यक्ष, उपसचिव जनक कुमार बोहरालाई उपाध्यक्ष र कार्यालय सचिव काँशी विकलाई सचिवको जिम्मेवारी दिएर अधिवेशन गर्ने कमिटी घोषणा गरिएको थियो ।

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला इन्चार्ज भैरव बहादुर सिंह सहितका नेताहरु बीचको सहमति पछि जिल्ला कमिटी घोषणासँगै चैत्रको १६ र १७ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो । त्यो निर्णय समेत कार्यान्वयन हुन सकेको थिएन ।

अधिवेशनकै तयारीका लागि चैत १ गते बोलाईएको बैठक गणपूरक संख्या नै नपुगेर स्थगित गरिएको थियो । आजको बैठकले अधिवेशनको तयारी शीघ्र थाल्ने, विभिन्न उपसमिति गठन सहित तयारी गर्ने र पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरिएको छ ।

अधिवेशन आगामी ज्येष्ठ १ गतेबाट जेष्ठ ३ गते मदन आश्रित स्मृति दिवसको दिन पारेर जिल्ला अधिवेशन गर्ने र पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराउने तयारीका साथ बैठक सम्पन्न भएको छ ।

बैठकमा जिल्ला इन्र्चाज भैरव बहादुर सिंह, पार्टी केन्द्रीय सदस्य लाल बहादुर थापा, प्रदेश कमिटी सदस्य गगन रावल, कलक बहादुर सिंह सहित नेताहरु सहभागी बनेका हुन् । 
 

प्रतिक्रिया