गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

कर्णालीमा एमाले, सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २०, २०८०
कर्णालीमा एमाले, सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री

काठमाडौं : सत्ता गठबन्धन दलले कर्णालीमा एमाले र सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको छ। त्यसैगरी बागमती प्रदेशमा पनि आलोपालोको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने तय भएको छ। हाल बागमतीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र बागमतीको नेतृत्व दिने सहमति भएको सरकारका एक मन्त्रीले जानकारी दिए। ‘सुदूरपश्चिममा तत्काल र बागमतीमा दोस्रो चरणमा एकीकृत समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।’

आलोपालोमा मुख्यमन्त्री पाउने सहमतिपछि नेकपा एसले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका जम्कट्टेललाई बागमती प्रदेशका मुख्यमन्त्रीमा विश्वासको मत दिने सहमति भएको थियो।​ सहमति भएपछि बागमती प्रदेशसभामा विश्वासको मत दिने निर्णय नेकपा एसले गरेको हो। बागमतीमा नेकपा एसका ७ जना सांसद छन्।

सातमध्ये एक प्रदेशमा मुख्यमन्त्री नपाए बागमतीमा विश्वासको मत नदिने नेकपा एसले आफ्नो अडान राख्दै आएको थियो। गठबन्धनबीच एक वर्ष जम्कट्टेलले नै सरकार चलाउने र बाँकी अवधिमा नेकपा एमाले र एसले मुख्यमन्त्री चलाउने सहमति गठबन्धनभित्र भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले पुनः विश्वासको मत लिएका हुन्।

बागमती प्रदेशसभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका थिए। उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन्।

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ। प्रदेशसभामा बैठकमा १ सय ८ जना सदस्य सहभागी थिए। विश्वासको मतको विपक्षमा ३७ मत परेको थिए। १५ सांसद तटस्थ बसेका थिए। २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रोपटक विश्वासको मत लिएका हुन्। पहिलोपटक ३ माघ २०७९ मा विश्वासको मत लिएका थिए। नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रोपटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए। यसपालिसहित यो तेस्रोपटक विश्वासको मत पाएका हुन्।

दुई सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १८, माओवादी, ११, एमाले १०, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र १, १ सांसद छन्। यसअघि प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने करिब–करिब अन्तिम निर्णय नै गरिसकेका थिए। उक्त पार्टीमा सोमबारै मात्र देखिएको चर्को विवादका एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय सत्तागठबन्धनको बैठकले गरेको हो। गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पु‍र्‍याउने कसरतमा सत्तागठबन्धन दल छ। सुदूरमा अहिले कांग्रेसका कलमबहादुर शाह मुख्यमन्त्री छन्।

त्यस्तै बागमतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सोमबार विश्वासको मत लिएका छन्। एकीकृत समाजवादीलाई मुख्यमन्त्री र हाम्रो नेपाली पार्टीलाई मन्त्री दिएको छ। हानेपाबाट शैलेन्द्र बज्राचार्य मन्त्री बनिसकेका छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकारका लागि बहमुत पु‍र्‍याउन ५६ सांसद आवश्यक पर्छ। प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ। सरकार टिकाउन १ मत आवश्यक छ। जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो।

प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन्। राप्रपा र नेमकिपा भने यो सरकारमा नजाने स्पष्ट पारिसकेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरूबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ। सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको हो।

माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै दबाब दिँदै आए पनि सत्ता भागबन्डा मिलाउनका लागि प्रधानमन्त्री दाहालले एमालेलाई मुख्यमन्त्री दिएका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद छन्। त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन्।

प्रतिक्रिया