गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

गठबन्धनमा नयाँ सहमति : सुदूरपश्चिम र वाग्मतीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
गठबन्धनमा नयाँ सहमति : सुदूरपश्चिम र वाग्मतीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने

काठमाडौं : सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् । वाग्मती प्रदेशमा पनि आलोपालाको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने भएका छन् ।

हाल वाग्मतीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र वाग्मतीको नेतृत्व दिने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

‘सुदूरपश्चिममा तत्काल र वाग्मतीमा दोस्रो चरणमा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ,’ उनले भने । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १८, माओवादी, ११, एमाले १०, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र १, १ सांसद छन् ।

यसअघि सत्ता गठबन्धनले सुदूरमा उन्मुक्तिलाई मुख्यमन्त्री दिने तयारी गरेको थियो । उन्मुक्तिमा चरम विवाद भएका कारण बहुमत पुर्‍याउने दाबीसहित एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय भएको एक नेताले बताए ।

गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुर्‍याउने कसरत भएको छ । हाल कांग्रेसका कलमबहादुर शाहले सुदूरपश्चिम सरकारको नेतृत्व गरेका छन् ।

त्यस्तै वाग्मतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीलाई मुख्यमन्त्री र हाम्रो नेपाली पार्टी(हानेपा)लाई मन्त्री दिएर बहुमत पुर्‍याउने कसरत छ ।

हानेपाबाट शैलेन्द्र बज्राचार्य मन्त्री बनिसकेका छन् । ११० सदस्यीय वाग्मती प्रदेशसभामा सरकारका लागि बहमुत पुर्‍याउन ५६ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ ।

जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । राप्रपा र नेमकिपा सरकारमा सहभागी नहुने प्रस्ट पारिसकेका छन् ।

प्रतिक्रिया