गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२९
Dho

सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, माग्यो मुख्यमन्त्री

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २१, २०८०
सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, माग्यो मुख्यमन्त्री

बाजुरा: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि सुदूरपश्चिम प्रदेशमा सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ ।

कांग्रेस–माओवादीको समीकरण भत्किएर नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिमको सत्ता फेरबदलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) फेरि निर्णायक भूमिकामा पुगेको छ ।

२६ माघमा नाउपाले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र रावलले मुख्यमन्त्री पद गुमाएका थिए । अहिले पुनः एमाले–माओवादी गठबन्धन बनेपछि नाउपाले सुदूरपश्चिममा कस्तो भूमिका खेल्छ भन्ने धेरैको चासो छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस र एमालेले फरक गठबन्धन बनाउन चाहँदा दुबैलाई ७ सांसद रहेको नाउपाको समर्थन अनिवार्य नै छ ।

अहिले कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा नाउपाले एक मन्त्री र राज्यमन्त्री पाएको छ । सोमबार बनेको एमाले–माओवादीसहितको गठबन्धनमा सहभागी नभए सुदूरपश्चिममा नयाँ सरकार गठन असम्भव छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखसहित) ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा र स्वतन्त्र एक÷एक सांसद छन् भने एउटा सिट रिक्त रहेकाे छ ।

सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । फेरिएको समीकरणअनुसार माओवादी र एमालेसँग २० जना प्रदेशसभा सदस्य हुन्छन् । नाउपा समेत मिसिएपछि त्यो संख्या बढेर २७ पुग्छ ।

तर यदि नाउपा फेरिएको समीकरणमा सहभागी नभए मुख्यमन्त्री शाहले एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार प्रदेशसभामा बहुमत कायमै राख्न सक्छन् ।

कांग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा रहँदा शाहको पक्षमा २९ जना प्रदेशसभा सदस्य हुन्छन् । जुन सरकार टिकाउन बहुमत हो । नाउपाका अध्यक्ष रेशम चौधरीले भने नयाँ गठबन्धनको पक्षमा उभिने बताइसकेका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किने क्रममा चौधरीले नयाँ गठबन्धनप्रति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ‘त्यो बैठकले निर्णय गर्छ ।

सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं’, चौधरीले संक्षिप्त प्रतिक्रिया दिएका थिए । सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री पाउनुपर्ने उनले बताएका छन् ।

‘सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी होइन, हामीले लिनुपर्छ । नाउपा थारु विद्रोहबाट जन्मिएको पार्टी हो’, चौधरीले भने, ‘सुदूरपश्चिममा थारु र पहिचानको मुख्यमन्त्री भएको हेर्न चाहेका छन् ।

हामी चाहन्छौँ अहिलेको गठबन्धनबाट सकारात्मक रुपमा त्यो प्राप्त गर्छ ।’ राजनीतिक समीकरण फेरिएपछि नयाँ रणनीति बनाउन चौधरीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई काठमाडौं बोलाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीले समसामयिक विषयमा छलफल गर्न मंगलबार बिहान १० बजे काठमाडौंमा बैठक बस्ने बताउँदै त्यसका लागि सबै प्रदेशसभा सदस्यलाई बोलाइएको जानकारी दिए ।

नाउपा बाहेकका अरु सत्तारुढ दल भने नयाँ गठबन्धनबारे केन्द्रमा हुने सहमतिलाई पर्खेर बसेका छन् । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले केन्द्रमा हुने सहमतिका आधारमा प्रदेशमा अघि बढ्ने बताए ।

प्रतिक्रिया