गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५७
Dho

सुदूरपश्चिम सरकारमा खटपट, गठबन्धनबाटै घेराबन्दी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १९, २०८०
सुदूरपश्चिम सरकारमा खटपट, गठबन्धनबाटै घेराबन्दी

बाजुरा : सत्ता गठबन्धन धर्मराउने चर्चा चलिरहेका बेला सुदूरपश्चिममा पनि गठबन्धन खटपट देखिएको छ। सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले नै सरकारको प्रतिनिधित्व गरिरहेको दल नेपाली काँग्रेसविरुद्ध मोर्चाबन्दी सुरु भएको छ। जसअनुरुप गठबन्धन दलहरु नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तयारी थालेका हुन्।

तयारीमात्र होइन, भोलि धनगढीमा काँग्रेसबाहेकका गठबन्धन दलको गोप्य बैठक बसेर अब सरकार र सरकार प्रमुखसँग निर्णायक वार्ता गर्ने बताइएको छ। स्रोतका अनुसार भोलि अनौपचारिक बैठक बसेर सो निर्णय हुने छ।

यसैक्रममा आजै सत्तारुढ दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सांसद ओमविक्रम भाट (सरलले) सरकारले सरकारको समिक्षा गर्ने बेला आएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्रदेश सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको भन्दै आफूहरू निर्णायक छलफलमा जुट्ने सङ्केत गरेका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको छ। यहाँ माओवादीका दुई मन्त्री र एक राज्य मन्त्री छन्। तर, माओवादीकै सांसद भाटले सरकारले गति दिन नसकेको भन्दै आलोचना गरेका हुन्।

‘सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ। यो एक बर्ष सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको छर्लङ्ग छ। त्यसकारण सरकारबारे गम्भीर समीक्षा आजको आवश्यकता हो’ उनले लेखेका छन्, ‘यदि सुदूरपश्चिमेली जनताको हकहित, विकास, समृद्धि, सुशासन र सङ्घीयता कार्यान्वयनको पक्षमा काम गर्न सकिँदैन भने हामीहरूले निर्णायक कदम चाल्ने अवस्था सृजना हुँदै छ।’

उनले सत्ता गठबन्धनभित्रै पनि सरकारमा कांग्रेस एकलौटी हाबी भएको भन्दै त्यस विषयमा अन्य दलहरूबिच छलफल गरिने बताएका छन्।

‘समयमा गठबन्धनभित्र छलफल गरेर उपयुक्त र सही समाधान निकाल्न सकिँदैन र सरकार त्यसका लागि तयार हुँदैन भने सरकारबारे हामी गम्भीरतापूर्वक सोच्न बाध्य हुनेछौँ। त्यसका लागी हामी गठबन्धन भित्र गम्भीर विमर्श एवं समीक्षा गरिरहेका छौँ ’ उनले लेखेका छन्, ‘केहि समयभित्रै गठबन्धन सरकार भित्र रहेका दलहरूको सामूहिक धारणा सार्वजनिक गरिनेछ। हाम्रो प्राथमिकता सरकार होइन सुशासन समृद्धि सामाजिक न्याय सहितको सुन्दर र समृद्ध सुदूरपश्चिम हो।’

भाट सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र प्रभावशाली नेता मानिन्छन्। उनले सामाजिक सञ्जालमा लेखेको विषयले सुदूरपश्चिम प्रदेशमा सत्ता सहकार्यमा खटपट भएको सङ्केत दिएका छन्। केन्द्रमा गठबन्धनमा विभिन्न प्रश्न उठिरहेका बेला प्रदेशमा माओवादी सांसदले सरकारका विषयमा निर्णायक कदम चाल्ने अवस्था आउने भन्दै दिएको अभिव्यक्ति अर्थपूर्ण रुपमा हेरिएको छ। यहाँ माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।

प्रतिक्रिया