गाैमुल खबर डटकम सोमबार १७, कार्तिक २०८३ ०५:३४

बडीमालिकामा मृत भेटिएका २० वर्षीय बोहराको शव हेलिकप्टरबाट मार्तडी ल्याइयो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक १७, २०८३

बाजुरा ः बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा मृत अवस्थामा फेला परेका २० वर्षीय युवक मनिष बोहराको शव हेलिकप्टर मार्फत उद्धार गरी सदरमुकाम मार्तडी ल्याइएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका दैजी घर भएका बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत मार्तडी ल्याइएको हाे ।

शव उद्धारपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बडीमालिकामा भारी हिमपात भएपछि गत शुक्रबारदेखि सम्पर्क विहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए।

बडीमालिका माताको दर्शनसँगै पर्यटकीय भ्रमणका लागि गएका उनी सम्पर्क विहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहराका अनुसार मृतकको शव उद्धार गरी आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकामा भारी हिमपातपछि अत्यधिक चिसो बढेको थियो।

चिसोका कारण लेक लागेर बोहराको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि खुल्नेछ।

यसअघि हिमपातका कारण बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। उनलाई पनि हेलिकप्टरबाट सदरमुकाम मार्तडी ल्याइएको थियो।

बडीमालिकामा लगातारको हिमपात र अत्यधिक चिसोका कारण एकै समूहका दुई युवा प्रभावित भएको यस घटनाले उच्च हिमाली क्षेत्रमा मौसमको पूर्वानुमान, आवश्यक तयारी र सुरक्षा सतर्कताको महत्त्वलाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया