बाजुरा ः सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिका लोकप्रिय कलाकार प्रकाश थापा बाजुराको गौमुल गाउँपालिका-४ मा सांगीतिक प्रस्तुति दिने भएका छन्।
दशैँ-दीपावलीको अवसरमा आयोजना हुन लागेको तीनदिने विशेष सांस्कृतिक कार्यक्रममा थापाले आफ्ना चर्चित डेउडा गीत तथा सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन्।
गौमुल गाउँपालिका-४ को वडा समितिको आयोजनामा आगामी कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन हुने विशेष कार्यक्रममा कलाकार थापाको प्रस्तुति मुख्य आकर्षणका रुपमा रहनेछ।
सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परालाई गीत-संगीत मार्फत संरक्षण तथा प्रवर्द्धन गर्दै आएका थापाको प्रस्तुतिमा स्थानीय दर्शकले डेउडाको मौलिक भाकासँगै रमाउने अवसर पाउनेछन्।
कार्यक्रममा स्थानीय कला, संस्कृति झल्काउने विभिन्न सांस्कृतिक गतिविधि तथा भलिबल प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
चाडपर्वको अवसरमा आयोजना हुन लागेको कार्यक्रमले मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र सामाजिक सद्भावलाई जोड्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष अमर विकले मौलिक संस्कृति संरक्षण, खेलकुदको विकास र आपसी एकतालाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।
उहाँले कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन स्थानीयबासी, छिमेकी पालिकाका नागरिक तथा सम्पूर्ण दर्शकलाई आग्रह गर्नुभएको छ।




प्रतिक्रिया