गाैमुल खबर डटकम सोमबार १७, कार्तिक २०८३ ०३:४८

धनगढी-काठमाडौं धाउनुपर्ने बाध्यता घटाउँदै बाजुरा अस्पताल, तीन दिनमा आठ जटिल शल्यक्रिया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक १६, २०८३
धनगढी-काठमाडौं धाउनुपर्ने बाध्यता घटाउँदै बाजुरा अस्पताल, तीन दिनमा आठ जटिल शल्यक्रिया

बाजुरा ः बाजुरा जिल्ला अस्पतालमा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ। जिल्लामै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएपछि हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीले स्थानीयस्तरमै उपचार पाउन थालेका छन्।

अस्पतालका अनुसार कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नीसम्बन्धी सात र तिघ्राको गाँठो निकाल्ने एक गरी आठ वटा शल्यक्रिया गरिएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिशबहादुर मल्लका अनुसार शल्यक्रिया गरिएका अधिकांश बिरामी हातका हड्डी भाँचिएका बालबालिका हुन्। उनीहरूको भाँचिएको हड्डीमा तार तथा प्लेट राखेर उपचार गरिएको छ। एक जना बिरामीको भने यसअघि राखिएको इम्प्लान्ट निकालिएको छ।

त्यस्तै, ४० वर्षीय पुरुषको दायाँ तिघ्राको माथिल्लो भागमा रहेको गाँठो शल्यक्रिया गरी निकालिएको छ। उक्त गाँठोको प्रकृति पहिचान गर्न परीक्षणका लागि नमुनासमेत सङ्कलन गरिएको अस्पतालले जनाएको छ।

तीन दिनको अवधिमा शल्यक्रियासहित करिब तीन सय बिरामीले अस्पतालबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्। डा. मल्लले अर्थोपेडिक चिकित्सकको उपलब्धताले हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई जिल्लामै उपचार गर्न सहज भएको बताए।

उनका अनुसार आइसियु आवश्यक पर्ने तथा कम्मर र टाउकोसम्बन्धी जटिल शल्यक्रिया भने हाल अस्पतालमा सम्भव छैनन्। अन्य विशेषज्ञ सेवामार्फत गर्न सकिने शल्यक्रिया भने नियमित रूपमा भइरहेको उनले जानकारी दिए। जिल्लामै उपचार सम्भव हुनेबारे पर्याप्त जानकारी नहुँदा कतिपय बिरामी अझै धनगढी र काठमाडौं पुग्ने गरेका छन्।

अस्पतालले शल्यक्रियाबापत पाँच सयदेखि १० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ। गत पुसदेखि अर्थोपेडिक सर्जन डा. शिरिष श्रेष्ठले सेवा दिइरहेका छन् भने भदौदेखि एमडीजीपी चिकित्सक डा. राहुल श्रेष्ठ पनि कार्यरत छन्।

१५ शय्याको स्वीकृति पाएको बाजुरा जिल्ला अस्पतालले हाल ५७ शय्या सञ्चालन गरिरहेको छ। अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार बाजुरासहित छिमेकी जिल्ला हुम्ला र मुगुका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्। अस्पतालमा दैनिक करिब एक सय ५० बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन्।

विशेषज्ञ चिकित्सक र शल्यक्रिया सेवा जिल्लामै उपलब्ध हुन थालेपछि सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्या भएका बिरामीलाई बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया