बाजुरा ः चाडपर्व रमाइलो र मनोरञ्जनको अवसर मात्र होइनन्, यी त पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई जीवन्त राख्ने साझा सम्पत्ति पनि हुन्। यहीँ सांस्कृतिक पहिचानलाई जोगाउँदै आपसी एकता र सद्भावको सन्देश फैलाउने उद्देश्यले बाजुराको गौमुल गाउँपालिका-४ ले तीनदिने दशैँ-दीपावली विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
वडा समितिको बैठकले कात्तिक १६ देखि १८ गतेसम्म विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। कार्यक्रममा सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिका लोकप्रिय कलाकार प्रकाश थापाका गीत-संगीतको विशेष प्रस्तुति रहनेछ। उनको प्रस्तुतिसँगै स्थानीय कला, संस्कृति र परम्पराले समेत कार्यक्रममा विशेष स्थान पाउनेछन्।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा भलिबल प्रतियोगितासहित सुदूरपश्चिमको मौलिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ। पुस्तौँदेखि चल्दै आएका संस्कार, परम्परा र सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म पुर्याउने कार्यक्रमको उद्देश्य रहेको छ।
यसैबीच, गौमुल विकास समाज वडा नं. ४ को मूल समितिको आयोजनामा जमरा तथा टीकासहित शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको छ। चाडपर्वको अवसरमा आपसी भेटघाट, आत्मीयता र शुभकामना साटासाट गर्दै सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास गरिएको हो।
वडा अध्यक्ष अमर विकका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई मौलिक संस्कृति संरक्षण, सामाजिक एकता र आपसी भाइचारालाई बलियो बनाउने साझा अभियानका रुपमा आयोजना गर्न लागिएको हो।
‘आफ्नो माटोको पहिचान जोगाऔँ, मौलिक संस्कृतिलाई पुस्तान्तरण गरौँ र चाडपर्वलाई आपसी सद्भावको साझा उत्सव बनाऔँ’ भन्ने भावनासहित कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष विकले बताउनुभयो।
स्थानीय कला र संस्कृतिको संरक्षणसँगै खेलकुद, मनोरञ्जन र सामाजिक मेलमिलापलाई एउटै उत्सवमा जोड्ने गौमुल-४ को यो पहलले स्थानीयस्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया