गाैमुल खबर डटकम सोमबार १७, कार्तिक २०८३ ०३:४८

प्रकाश थापाको गीतले गुञ्जिने भयो गौमुल-४, डेउडा र खेलकुदको उत्सव आजदेखि

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक १७, २०८३
प्रकाश थापाको गीतले गुञ्जिने भयो गौमुल-४, डेउडा र खेलकुदको उत्सव आजदेखि

बाजुरा ः डेउडाको मौलिक भाका, खेलकुदको रोमाञ्चक प्रतिस्पर्धा र सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई एउटै उत्सवमा जोड्दै बाजुराको गौमुल गाउँपालिका-४ मा आज (कात्तिक १६ गते) देखि तीनदिने दशैँ-दीपावली विशेष कार्यक्रम सुरु हुँदैछ।

चाडपर्वको उल्लासलाई मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा सुदूरपश्चिमका लोकप्रिय डेउडा गायक प्रकाश थापाको विशेष सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ। थापाको गीत-संगीतमा रमाउन र मौलिक डेउडाको भाकामा झुम्न स्थानीयबासी तथा आसपासका क्षेत्रका दर्शकलाई समेत निमन्त्रणा गरिएको छ।

गौमुल गाउँपालिका-४ वडा समितिको बैठकले कात्तिक १६ देखि १८ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। तीन दिनसम्म चल्ने उत्सवमा भलिबल प्रतियोगिता सहित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।

कार्यक्रमले चाडपर्वको रमाइलोलाई मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणलाई समेत प्राथमिकता दिएको छ। विशेषगरी नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान, सामाजिक संस्कार र सांस्कृतिक अभ्याससँग जोड्ने लक्ष्य राखिएको छ।

चाडपर्वको अवसरमा आपसी भेटघाट, आत्मीयता र शुभकामना साटासाट गर्दै सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो। वडा अध्यक्ष अमर विकका अनुसार तीनदिने कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई मौलिक संस्कृति संरक्षण, सामाजिक एकता र आपसी भाइचारालाई बलियो बनाउने साझा अभियान हो।

आफ्नो माटोको पहिचान जोगाउने, मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने र चाडपर्वलाई सामाजिक सद्भावको साझा उत्सव बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष विकले बताउनुभयो।

स्थानीय कला र संस्कृतिको संरक्षणसँगै खेलकुद, गीत-संगीत र सामाजिक मेलमिलापलाई एउटै थलोमा जोड्ने गौमुल-४ को यो पहलले स्थानीयस्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै चाडपर्वको रौनक थप्ने अपेक्षा गरिएको छ।

कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन हुने उत्सवमा सहभागी भई डेउडाको मौलिक भाकामा रमाउन, खेलकुदको प्रतिस्पर्धा हेर्न र आफ्नो कला-संस्कृतिको उत्सवमा एकाकार हुन आयोजकले सम्पूर्ण स्थानीयबासी तथा खेलप्रेमीलाई निमन्त्रणा गरेको छ।

प्रतिक्रिया