बाजुरा ः नेपाली कांग्रेसको नियमित १५ औँ महाधिवेशन अन्तर्गत बाजुराको ८ औँ जिल्ला अधिवेशनलाई लिएर जिल्लाको पार्टी राजनीति थप तातेको छ। देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेका बेला पार्टीका शीर्ष नेतादेखि जिल्ला तहका नेता तथा कार्यकर्ताहरू सदरमुकाम मार्तडीमा केन्द्रित भएका छन्।
आज कात्तिक १५ गते मार्तडीस्थित खुलामञ्चमा हुने जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको छ। देउवा पक्षले यसपटक नेताहरूको उपस्थितिसँगै कार्यकर्ताको उल्लेख्य सहभागिता देखाएर आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गर्ने रणनीति बनाएको देखिन्छ।
यसअघि गगन पक्षले आयोजना गरेको भेलामा नेताहरूको उपस्थिति बढी देखिएको तर कार्यकर्ताको सहभागिता तुलनात्मक रूपमा कम रहेको भन्दै देउवा पक्षका केही नेताहरूले टिप्पणी गर्दै आएका छन्। त्यस्तै, गगन पक्षको भेलाबाट भएको राजनीतिक उपलब्धि र नेतृत्व चयनलाई लिएर समेत देउवा पक्षका नेताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरूले उक्त भेलाबाट 'प्रेम-प्रेमिकालाई जिताएको' भन्दै कटाक्ष गर्ने गरेको आरोप समेत छ।
यही पृष्ठभूमिमा आज हुने देउवा पक्षीय जिल्ला अधिवेशनलाई कार्यकर्ता सहभागिता र संगठनात्मक शक्तिको वास्तविक परीक्षणका रूपमा हेरिएको छ। यसअघिको गगन पक्षीय भेलामा नेताहरूको जमघटलाई चुनौती दिँदै देउवा पक्षले कार्यकर्ताको ठूलो उपस्थिति देखाउन सके बाजुरा कांग्रेसभित्र आफ्नो प्रभाव बलियो रहेको सन्देश दिने रणनीति लिएको विश्लेषण गरिएको छ।
अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख देवराज जोशी, केन्द्रीय सदस्य विद्या तिमिल्सेना, पूर्वपार्टी सभापति कविराज पण्डित, पूर्वसांसद महानेपाली, पार्टी उपसभापति नारायण पाध्याय लगायतका नेताहरू मार्तडी पुगिसकेका छन्।
जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई व्यवस्थित र भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको अधिवेशन संयोजक धनराज पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार अधिवेशनमा जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ।
नेपाली कांग्रेसभित्र देउवा र गगन पक्षबीच बढ्दो राजनीतिक ध्रुवीकरणका बीच हुन लागेको बाजुराको जिल्ला अधिवेशनलाई सामान्य सांगठनिक कार्यक्रमका रूपमा मात्र नभई आगामी १५ औँ महाधिवेशनका लागि शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ।
आजको अधिवेशनमा कसको पक्षमा कति कार्यकर्ता उभिन्छन्, नेताहरूको प्रभाव कति देखिन्छ र संगठनभित्रको शक्ति सन्तुलन कता मोडिन्छ भन्ने विषयले बाजुरा कांग्रेसको आगामी राजनीतिक समीकरणलाई थप स्पष्ट पार्नेछ। मार्तडीको खुलामञ्चमा हुने जमघटले देउवा र गगन पक्षबीचको प्रतिस्पर्धालाई थप चर्चामा ल्याउने देखिएको छ।






प्रतिक्रिया