गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८३ ०४:०३

बडीमालिकामा अलपत्र पर्यटकको उद्धार र बेपत्ता युवकको खोजीका लागि पुनः हेलिकप्टर पठाइँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक १५, २०८३
बडीमालिकामा अलपत्र पर्यटकको उद्धार र बेपत्ता युवकको खोजीका लागि पुनः हेलिकप्टर पठाइँदै

बाजुरा ः बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण अलपत्र परेकाहरुको उद्धार तथा बेपत्ता युवकको खोजीका लागि पुनः हेलिकप्टर सहित सुरक्षा निकाय र स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्वास्थ्यकर्मीको टोली आवश्यक उद्धार सामग्री सहित परिचालन गर्न लागिएको गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमलाई जानकारी दिएका छन् ।

हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनको धर्मशालामा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्किने क्रममा भारी हिमपात भएपछि कार्कीसहित केही पर्यटक त्रिवेणी पाटनस्थित धर्मशालामा बस्न बाध्य भएका थिए ।

यसैबीच, बडीमालिका क्षेत्रमा सम्पर्क विहीन भएका कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।

गत असोज ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका यात्रामा निस्किएको थियो । उक्त टोलीमध्ये पूर्वी नेपालका तीन जना बडीमालिकाबाट फर्किएर मार्तडी पुगिसकेका छन् भने कञ्चनपुरका दुई युवकको अवस्था फरक छ । तीमध्ये सागर कार्कीको उद्धार भइसकेको छ भने मनिष बोहरा अझै सम्पर्क विहीन छन् ।

भारी हिमपातका कारण बडीमालिका क्षेत्रमा आवतजावत कठिन बनेको छ । एक युवकको उद्धार भए पनि अर्का युवकको अवस्था अझै अज्ञात रहेकाले उनको खोजी तथा सम्भावित जोखिममा रहेका अन्य पर्यटकको उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन गर्न लागिएको हो ।

प्रतिक्रिया