गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८३ ०४:०१

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्क विहीन, उद्धारका लागि हेलिकप्टर माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक १६, २०८३
हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्क विहीन, उद्धारका लागि हेलिकप्टर माग

बाजुरा ः डोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे-फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन्।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान स्थानीय गाइडको छ । स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदा समेत पर्यटकहरू जबर्जस्ती उक्त क्षेत्रतर्फ गएको र फर्किने क्रममा हिउँमा फसेको हुन सक्न उनीहरूको बुझाइ छ ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् । स्थानीयवासीले हिमाल पार गर्न समस्या हुने जानकारी गराउँदा-गराउँदै पनि उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उनले बताइन्।

शे-फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बीचमा रहेका उक्त पासहरूमा फोन सम्पर्कसमेत नहुने समस्या छ। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए।

डोल्पामा २४४ पर्यटक

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन्।

प्रतिकूल मौसमका कारण प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

यसअघि डोल्पाको शे-फोक्सुन्डो ताल क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले फोक्सुन्डो तालको भ्रमण गरेका थिए।

खोजीका लागि हेलिकप्टर माग

डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले पछिल्लो जानकारीअनुसार पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा नआएको बताए।

उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए।

अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको छ। फोन सम्पर्क नहुने क्षेत्र र बाक्लो हिउँका कारण पर्यटकहरू कुन अवस्थामा छन् भन्ने यकिन हुन सकेको छैन।

सम्पर्क विहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरू फोक्सुन्डो ताल भ्रमणका लागि धाेवाट आउँदै थिए । उनीहरूको अवस्था पत्ता लगाउन तथा उद्धार नेपाली सेनाकाे टाेली समेत खटिएकाे प्रजिअ हमालले बताइन् ।

प्रतिक्रिया