गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८३ ०४:०१

सात वर्षदेखि अलपत्र बाजुराका दुई पुलमा नयाँ आशा, निर्माण प्रक्रिया अघि बढ्यो

बाजुरा
रमित वि.क.
शनिबार, कार्तिक १५, २०८३
सात वर्षदेखि अलपत्र बाजुराका दुई पुलमा नयाँ आशा, निर्माण प्रक्रिया अघि बढ्यो

बाजुरा ः करिब सात वर्षदेखि अलपत्र अवस्थामा रहेका बाजुराका दुईवटा पुल निर्माणको काम अघि बढाइने भएको छ। बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकालाई जोड्ने गरी निर्माण गर्न लागिएका पुलको काम पुनः अगाडी बढाउन प्रक्रिया थालिएको हो।

२०७५ सालमा 'डिजाइन एण्ड बिल्ड' मोडलमा ठेक्का आह्वान गरी निर्माण प्रक्रिया सुरु गरिएको भए पनि निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेपछि उक्त ठेक्का रद्द गरिएको थियो। त्यसयता निर्माण कार्य अलपत्र रहँदा स्थानीयबासीले वर्षायाममा आवतजावतमा ठूलो सास्ती खेप्दै आएका छन्।

विशेषगरी वर्षायाममा यी स्थानीय तहबीचको आवतजावत पूर्ण रुपमा अवरुद्ध हुने समस्या रहेकाले पुल निर्माणलाई शीघ्र अघि बढाउनुपर्ने आवश्यकता देखिएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताएका छन्।

मन्त्री लम्सालका अनुसार निर्माण कार्य अघि बढाउन पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल पूर्वाधार कम्पनी मार्फत आवश्यक प्रक्रिया थालिएको छ। यसका लागि इन्जिनियर खटाएर दुवै पुल निर्माण हुने स्थलको स्थलगत प्रमाणीकरण (साइड भेरिफिकेसन) समेत सम्पन्न गरिएको छ।

वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहेका यी पुल निर्माण सम्पन्न भए बुढीगंगा, त्रिवेणी, बडीमालिका र गौमुल क्षेत्रका नागरिकको आवागमन सहज हुनुका साथै स्थानीय तहबीचको सडक सञ्जाल र यातायात सम्पर्कमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया