बाजुरा ःभोटेकोशी नदीमा आएको बाढीपछि रसुवाको टिमुरेबाट सम्पर्क विहीन भएका बाजुराका नागरिक लामो समयसम्म फेला नपरेपछि आफन्तहरूले काजक्रिया गर्न थालेका छन्।
सम्पर्क विहीन भएको करिब २० दिनसम्म पनि कुनै खबर नआएपछि केही परिवारले हिन्दू संस्कार अनुसार काजक्रिया सुरु गरेका हुन्।
सम्पर्क विहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाले श्रीमानकाे खोजीका लागि विभिन्न ठाउँमा प्रयास गरे पनि अहिलेसम्म फेला पार्न नसकेको बताइन्। उनले आगामी असोज २ गतेदेखि श्रीमान्को काजक्रिया गर्ने तयारी गरेको बताइन्।
“मैले पनि मेरो श्रीमानकाे धेरै ठाउँमा खोजी गरिसकेँ। उहाँ कतै फेला पर्नुभएको छैन। फेला नपरेपछि जसरी अरूले काजक्रिया गरेका छन्, त्यसैगरी म पनि असोज २ गतेदेखि श्रीमान्को काजक्रिया गर्छु,” उनले भनिन्।
उनका अनुसार हिन्दू धर्म अनुसार दोमासो लाग्ने भएकाले त्यसअघि नै काजक्रिया गर्ने तयारी गरिएको हो। यस्तै, हिमाली गाउँपालिका-४ फैतीका बिसी पाण्डेलगायत केही सम्पर्कविहीनका आफन्तले भने काजक्रिया गरिसकेका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बाजुराका १६ जना रसुवाको टिमुरेबाट सम्पर्क विहीन भएका थिए। उनीहरू टिमुरेमा बसोबास तथा रोजगारीका सिलसिलामा रहेका थिए। बाढीपछि लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
हिमाली गाउँपालिका-६ का दीपे सार्कीकी श्रीमती मनसरी सार्कीले पनि श्रीमानकाे खोजीका लागि विभिन्न ठाउँमा प्रयास गरे पनि अहिलेसम्म कुनै खबर नआएको बताइन्।
दीपे सार्की नेपाली सेनामा कार्यरत थिए। उनी टिमुरेस्थित श्रीनाथ गणमा कार्यरत रहेको मनसरीले बताइन्। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि श्रीमान् टिमुरेबाट सम्पर्क विहीन भएको उनको भनाइ छ।
केही दिनसम्म श्रीमान् भेटिने आशा रहे पनि विभिन्न ठाउँमा खोजी गर्दा समेत फेला नपरेपछि आशा निराशामा परिणत भएको मनसरीले बताइन्। उनका अनुसार दीपे सार्कीको डीएनए परीक्षण समेत गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका-६ का ५३ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीया आराम नेपाली, ३३ वर्षीया उजना दमाई, ३२ वर्षीय मोहनलाल रोकाया, ३२ वर्षीय विक्रम भण्डारी, ४५ वर्षीय दीपे सार्की, ५५ वर्षीय बिसी पाण्डे र हिमाली गाउँपालिका-४ का १८ वर्षीय चन्द्र सार्की अझै सम्पर्क विहीन छन्।
त्यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका-४ का ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल र १८ वर्षीया सुस्मिता जोशी, स्वामीकार्तिक खापर गाउँपालिका-३ का ४६ वर्षीय वीरेन्द्र जैशी र ४४ वर्षीया सत्यादेवी जैशी तथा जगन्नाथ गाउँपालिका-६ का २९ वर्षीय मुकेश दमाई पनि सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
सम्पर्क विहीनमध्ये केहीका आफन्तले डीएनए परीक्षण समेत गराएका छन् भने केही परिवारले काजक्रिया गरिसकेका छन्। जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार हिमाली गाउँपालिका-६ का विक्रम भण्डारीको जिल्ला अस्पताल बाजुरामा र दीपे सार्कीको काठमाडौंमा डीएनए परीक्षण गरिएको छ।
“भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उहाँहरू सबै जना रसुवाको टिमुरेबाट सम्पर्कविहीन हुनुभएको हो,” उनले भने, “प्रहरी प्रशासन र आफन्तहरूले खोजी कार्य जारी राखे पनि उहाँहरू अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन।”
लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा परिवारहरू गहिरो पीडा र अन्योलमा छन्। एकातिर आफन्त भेटिने आशा बाँकी छ भने अर्कोतर्फ लामो समयसम्म कुनै खबर नआएपछि केही परिवार हिन्दू संस्कार अनुसार काजक्रिया गर्न बाध्य भएका छन्।





प्रतिक्रिया